नेपालमा ऊर्जा, कृषि, पर्यटन र सेवा क्षेत्रबाट प्रशस्त मुनाफा : प्रधानमन्त्री

चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन परिषद्ले बुधबार बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन बिजनेस फोरम’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगमा गरिने लगानी वास्तवमै नाफामूलक उद्योगका रुपमा रहने अवगत गराए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताएका छन् ।

चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन परिषद्ले बुधबार बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन बिजनेस फोरम’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगमा गरिने लगानी वास्तवमै नाफामूलक उद्योगका रुपमा रहने अवगत गराए ।

सरकारले विदेशी लगानीका लागि व्यवहारतः उपयुक्त वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै स्थिर तथा समृद्धिका लागि प्रतिबद्ध सरकारले ती क्षेत्रमा चिनियाँ लगानी वृद्धि हुने अपेक्षा गरेको बताए ।

नेपालमा दर्ता भएका विदेशी लगानीकर्ताले आफ्ना जग्गा खरिदबिक्री गर्नसक्ने भन्दै स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै पनि प्रकारको विभेद नरहेको र निजी उद्योगलाई राष्ट्रियकरण गर्ने कुनै नीति नभएको स्पष्ट पारे ।

नेपालमा सहज र सुलभ श्रमशक्ति पाइने, विशेष आर्थिक क्षेत्रमा स्थापना भएका उद्योगका लागि निश्चित अवधिसम्म करका दायरा खुकुलो रहेको जानकारी दिँदै प्रधानमन्त्रीले सन् २०१६ मा आफ्नो भ्रमणका क्रममा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताले आर्थिक विकासको पूर्वाधार खडा गर्ने र दुवै मुलुक सीमापार आर्थिक क्षेत्र तथा रेलमार्ग अगाडि बढाउन प्रतिबद्ध रहेको बताए ।

हालै एमाले र माओवादी केन्द्रको पार्टी एकताले नेपालमा राजनीतिक स्थिरता निर्माण गर्ने र स्थिरतासँगै स्पष्ट मार्गचित्रका साथ समृद्ध नेपाली सुखी नेपालीको लक्ष्य लिई विकास र समृद्धितर्फको यात्रा तय गरेको उनको भनाइ छ । राजनीतिक स्थिरताले नीतिगत निरन्तरता र एकरुपता ल्याउनुका साथै विदेशी लगानीको पूर्वशर्तका नीतिमा थप प्रष्टता हुने उनले स्पष्ट पारे । नेपाल र चीनबीच प्राचीनकालदेखि भूगोल, संस्कृति र परम्पराका आधारमा मैत्री सम्बन्ध रहेको र यो राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा समेत फैलिएको उल्लेख गर्दै प्रधानमन्त्रीले ‘नेपाल एक चीन नीति’प्रति प्रतिबद्ध हुँदै चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सिद्धान्तमा अविचलित रहेको दृढता पेस गरे ।

‘हामी दुई असल छिमेकी मात्रै होइनौं । विश्वसनीय विकास साझेदार पनि हौँ । हामी चीनको आर्थिक र प्रविधिका क्षेत्रमा विकास भएका नवीनतम् क्षमताको सहयोगबाट नेपालले विकासको परिदृश्यमा आफूलाई परिणत गर्न सक्नेछौँ,’ उनले भने ।

चीनका राष्ट्रपति सी जिन पिङको दूरदृष्टिमा आधारित ओबर परियोजनामा नेपाल जोडिएको र यस प्रयासले आफूहरुलाई दुई देशबीचमा सहयोग र सहकार्यका प्रचुर सम्भावनालाई आमन्त्रण गरिरहेको बताउँदै प्रधानमन्त्रीले नेपालमा चिनियाँ पर्यटकको आकर्षण प्रधानमन्त्रीले खुसी व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भेटे चिनियाँ राष्ट्रपति

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण कुराकानी भएको बुझिएको छ । दुई शीर्ष नेताबीचको भेटवार्तापछि अहिले प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ । राष्ट्रपति सीसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको शालिकमा श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार चीन प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओली बुधबार बिहानैदेखि महत्वपूर्ण कार्यक्रम र भेटावार्तामा व्यस्त भएका छन् । बुधबार नै उनले नेपाल–चाइना बिजनेश फोरमलाई सम्बोधन गरे भने दुई देशका निजी क्षेत्रबीच ऊर्जा, सिमेन्ट र पश्मिना उद्योग सञ्चालनका विषयमा भएको हस्ताक्षर समारोहमा सहभागी भएका थिए ।

भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी छन् । रासस