साउदी अरबका युवराज मोहम्मद बिन सल्मानले यहाँका महिलाले सवारी चलाउन नपाउने कानुनलाई रुढीवादी संस्कार भन्दै आफ्नो मुलुकलाई पनि आधुनिकतातर्फ लान यस्तो कदम चालेको बताएका थिए । सवारी साधन चलाउने अनुमती पाएसँगै राजधानी रियाद सहितका प्रमुख शहरहरुमा महिलाहरुले विहानैदेखि सवारी साधन चलाउन थालेका छन् ।
साउदी अरबका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुसी मनाएका छन् । शनिबार मध्यरातमा शाही घोषणामार्फत महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो । यो घोषणापछि साउदी अरेबिया र उनीहरुसँगै विश्वभरकै महिलाहरुले खुसी व्यक्त गरेका प्राप्त समाचारमा जनाइएको छ ।
महिलाहरुलाई सवारी साधन चलाउन अहिलेसम्म बन्देज लगाउनेमा विश्वको एउटा मात्र मुलुक साउदी अरब बाँकी थियो ।
साउदी अरबमा पनि महिलाहरुलाई सवारीसाधन लगाउन पाउने व्यवस्थालाई धेरैले एउटा महत्वपूर्ण घटनाको रुपमा लिएका छन् ।
साउदी अरबका युवराज मोहम्मद बिन सल्मानले यहाँका महिलाले सवारी चलाउन नपाउने कानुनलाई रुढीवादी संस्कार भन्दै आफ्नो मुलुकलाई पनि आधुनिकतातर्फ लान यस्तो कदम चालेको बताएका थिए । सवारी साधन चलाउने अनुमती पाएसँगै राजधानी रियाद सहितका प्रमुख शहरहरुमा महिलाहरुले विहानैदेखि सवारी साधन चलाउन थालेका छन् ।
“मलाई यो दिन आउछ भन्ने पहिले नै थाहा थियो, तर सोचेभन्दा केही चाँडो आयो,” एकजना कार्यक्रम सञ्चालक तथा लेखक समर अल्मोग्रेनले भने ।
उनको थप भनाइ छ ‘मैले यो व्यवस्थासँगै आकाशमा उड्ने चराजस्तै निकै ठूलो स्वतन्त्रताको महसुस गरेको छु ।’ झन्डै ३० लाख महिलाले नयाँ स्वतन्त्रताको उपभोग गर्ने अपेक्षा गरिएको छ । यहाँ यसै महिनाको सुरूमा पहिलो पटक महिलाको नाममा सवारी चालक अनुमतिपत्र जारी गरिएको थियो ।
महिलालाई सवारी चलाउन दिने घोषणा भने अघिल्लो सेप्टेम्बर महिनामा नै गरिएको थियो । त्यसपछि यहाँका महिलालाई सवारी अनुमतिपत्रका लागि तालिम दिने क्रम सुरु गरिएको थियो । महिलाहरूले सवारीसाधन चलाउन पाउनुपर्ने मागसहित अधिकारवादीहरूले लामो समयदेखि साउदीमा अभियान चलाइरहेका थिए ।
अनुमति नभएको समयमा पनि महिलाले सवारी चलाएको भन्दै सन् १९९० मा साउदी अरेबियाको सहर रियादबाट दर्जनौँ महिला पक्राउ परेका थिए ।
साउदीको विद्यमान कानुनअनुसार यहाँ पुरुषले मात्र सवारी चालक अनुमतिपत्र पाउने गरेका थिए । सो कानूनमा संशोधन गरी युवराजले नै आदेश दिएपछि महिलाले यो अधिकार प्राप्त गरेका हुन् । नयाँ अधिकार पाएसँगै कैयौँ महिलाले सवारी साधन चलाउने तालिम लिएका र सवारी चालक अनुमतिपत्र लिएका समाचारमा जनाइएको छ ।
संयुक्तराज्य अमेरिकालगायत विश्वका देशहरुले महिलालाई पनि गाडी चलाउन दिने साउदी राजाको आदेशको स्वागत गरेका छन् । उनीहरुले राजाको यो कदमले साउदी अरेबियाका महिलाले केही मात्रामा भए पनि अधिकार प्राप्त गरेका तर्क दिएका पनि विश्वका विभिन्न देशका महिला अधिकारकर्मी तथा संघसंस्थाहरुले जनाएका छन् । रासस