प्रतिनिधिसभामा आज विशेष समयमा बोल्ने सांसदहरुले सार्वजनिक जग्गाको संरक्षण, तराईको डुबान समस्या, माथिल्लो तामाकोशीको शेयर आवेदन गर्ने समयसीमा वृद्धिलगायतका विषयहरु उठान गरे ।
सांसद शान्ति पाख्रिनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको र स्थानीयवासीलाई दिइने शेयरको यही असार २४ देखि साउन ९ गतेसम्मका लागि आवेदन दिने समय तोकिएपनि रोपाइँलार्इ ध्यानमा राखेर एक महिना थप गर्नुपर्ने सुझाव दिइन ।
सो आयोजनाको शेयरमा आवेदन दिने प्रक्रियालाई सरल बनाउन र लागतबारे अनुगमन गर्न माग गरिन । सांसद केदार सिग्देल सेती नदीको कटानले शुक्लागण्डकी नगरपालिकाका एक हजार ४०० भन्दा बढी व्यक्तिले विगत ४० वर्षदेखि सरकारी ढिलासुस्तीका कारण लालपूर्जा पाउन नसकेको उल्लेख गरे ।
सांसद भैरवबहादुर सिंहले बझाङ जिल्लामा यही असार १३÷१४ गतेदेखि योङ कम्युनिष्ट लिगका कार्यकर्ताले स्थानीय तहमा बजेट विनियोजन गर्न नदिने भनी दिँदैआएको धम्कीप्रति सरकारको ध्यान आकृष्ट गरे ।
सांसद भरतकुमार शाहले चिसो छिँडीमा अनशन गोविन्द केसीको स्वास्थ्यमा ध्यान दिन सुझाव दिए। माइतीघर मण्डलाजस्ता स्थानमा धर्ना गर्न निषेध लगाइएकामा आपत्ति जनाए ।
रासस