अवैधानिक रुपमा मलेसिया बसेका नेपालीलाई घर फर्कने अवसर

लुकिछिपी कामगर्दै आएका नेपालीहरुलाई मलेसियन सरकारले धमाधम पक्राउ गर्न थालेपछि नेपाली दूतावासले दुई ठाउँमा कन्सुलर सेवा उपलब्ध गराउन लागेको छ ।

अवैधानिक रुपमा मलेसियामा बस्दै आएका नेपालीहरुलाई एकतर्फी यात्रा अनुमति बनाएर नेपाल फर्काउन लागिएको छ । लुकिछिपी कामगर्दै आएका नेपालीहरुलाई मलेसियन सरकारले धमाधम पक्राउ गर्न थालेपछि नेपाली दूतावासले दुई ठाउँमा कन्सुलर सेवा उपलब्ध गराउन लागेको छ ।

दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले एकतर्फी अनुमति पत्र बनाउन दूतावाससम्म आउँदा नेपालीहरु पक्राउ पर्ने भएकाले दुई ठाउँबाट सेवा दिन लागिएको बताए । उनले नेपालीहरु सबैभन्दा बढी रहेको जोहोरबारु र पेनाङ राज्यमा गएर कन्सुलर सेवा दिइने जानकारी दिए । असार ३० गते शनिबार बागुस सिटी होटेल जोहोरबारुमा र देवान हल बुकित मेर्ताजाम पेनाङमा सेवा दिने बताइएको छ ।

मलेसियामा झन्डै एक लाखभन्दा बढी नेपालीहरु अवैधानिक रुपमा काम गर्दै आएका छन् । दूतावासले एकतर्फी अनुपमति पत्र बनाउन नागरिकताको र पासपोर्टको फोटोकपी, दुई ओटा फोटो र राजश्व दस्तुर १६० रिङ्गिट अनियार्व लिएर आउनु पर्ने जनाएको छ । मलेसियन सरकारले अवैधानिक रुपमा बस्दै आएकाहरुलाई अगष्ट ३० भित्र आ–आफ्नो देशमा फर्कन सूचना जारी सकेको छ ।