वैदेशिक रोजगार सरकारको प्राथमिकतामा छैनः मन्त्री विष्ट

वैदेशिक रोजगारमा देखिएका समस्या केही दिनमा नै सुधार गर्ने बताउँदै उनले अब केही वर्षभित्रै सीप सिकेका युवालाई मात्र वैदेशिक रोजगारमा पठाइने जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार सरकारको प्राथमिकतामा नरहेको बताएका छन् । वैदेशिक रोजगारबाट फर्केका युवाहरुको राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पाँच वर्षभित्र बाध्यतावस विदेश जानु पर्ने युवालाई रोक्ने लक्ष्य सरकारको रहेकाले वैदेशिक रोजगार आफ्नो प्राथमिकतामा नरहेको बताएका हुन् ।

मन्त्री विष्टले भने, ‘वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप, ज्ञान र क्षमतालाई सरकारले उपयोग गर्ने बताउँदै नेपालको हितका लागि आफ्नो श्रम, सीप स्वदेशमै प्रयोग गर्ने वातावरण बनाउँछु ।’ त्यसका लागि पुँजीदेखि स्रोतसाधन परिचालन गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै फर्किएका युवाको श्रम सीपलाई प्रयोग गरेर सरकार अगाडि बढ्ने बताए ।

मन्त्री विष्टले सरकारले सुरु गरेको समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानलाई सफल बनाउन वैदेशिक रोजगारमा रहेका युवालाईसमेत आबद्ध गरिने बताउँदै फर्किएका युवालाई श्रम राजदूतका रुपमा सरकारले परिचालन गर्ने धारणा व्यक्त गरे । वैदेशिक रोजगारमा देखिएका समस्या केही दिनमा नै सुधार गर्ने बताउँदै उनले अब केही वर्षभित्रै सीप सिकेका युवालाई मात्र वैदेशिक रोजगारमा पठाइने जानकारी दिए ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले मुलुकलाई समृद्ध बनाउन दक्ष, सीप र ज्ञान भएका युवालाई अभियानमा कसरी सहभागी गराउने भन्नेमा छलफल चलाइरहेको बताए । मन्त्री विश्वकर्माले हाम्रो सामाजिक वातावरणले युवालाई वैदेशिक रोजगारमा जान बाध्य तुल्याएकाले अब विदेश नभई स्वदेशमा नै आफ्नो श्रम लगाएर देश विकासमा युवा लाग्नुपर्नेमा जोड दिए ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष भवन भट्टले प्रवासमा बसेर नेपालीले आर्जन गरेको सीप र पुँजीलाई स्वदेशमा लगानी गर्ने वातावरण बनाइदिनु पर्ने बताए । सम्मेलनमा वैदेशिक रोजगारबाट फर्किएका युवा उत्तम अधिकारीले सरकारले लगानीको सुनिश्चिताको वातावरण बनाए आफूहरु कृषि, पर्यटन, जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको बताए ।

भेलामा देशका ६३ जिल्लाका झन्डै ८ सय प्रतिनिधि सहभागी छन् । भेलाले विभिन्न विषयमा छलफल गरी आगामी दिनमा गर्न सकिने कामको तय गर्नेछ ।