बजेट छुट्टिएपनि जैमिनी नगरका स्थानीयलाई खानेपानीको सास्ती उस्तै

बागलुङको जैमिनी नगरपालिका भित्रको अधिकांश वडाहरु खानेपानीबाट बञ्चित हुनुपरेको छ । बर्षौदेखि त्यो क्षेत्रका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका हुन । खासगरी लामो समयदेखि आउने भनेको झुले—मझुवाको पानी ल्याउन त्यहाँका स्थानीयले श्रमदान गरेपनि अझै पानी आउन सकेको छैन । झुलेको पानी छिस्ती वडाका अधिकांश गाउँ तथा टोलहरुका लागि लक्षित गरेर ल्याइने भनिएको योजना हो । तर, बषौं वित्दा पनि खानेपानी आउन सकेन । क्वाङ्दी, भड्कुवा, मर्नास, ओइनकुना, चिल्धारा लगायत अन्य क्षेत्रका स्थानीयले लामो समयदेखि झुलेको पानी आउने प्रतिक्षा गरेपनि  सम्वन्धित निकायको ध्यान नजानु र समन्वयको अभावले खानेपानी योजना आउने नआउने कुनै पत्तो छैन ।

नगर क्षेत्रमा चरम खानेपानीको समस्या हुँदा पनि नगरपालिका, वडा तथा जनप्रतिनिधिको खासै ध्यान जान सकेको छैन । भएका पानीका संरचनाहरुको दिर्घकालीन संरक्षण नगरी विस्तार जथाभावी ‘डोजरे बाटो’ विस्तार गरिँदा समस्या थपिएको स्थानीयको भनाइ छ । गत आर्थिक बर्ष २०७४÷०७५ लाइ लक्षित गरेर खानेपानी को व्यवस्थापनका लागि २० लाख रुपैँया नगरपालिकाले छुट्याएको छ । तर, त्यो बजेट कुन—कुन खानेपानी योजनामा प्रयोग छ भन्नेबारे सवैजसो अनभिज्ञ नै छन ।

यस बर्ष नै १५ घरधुरीलाई खानेपानी पुर्याउनका लागि नगरपालिकाले ७० हजार ‘छिस्ती ८ सेलडाँडा टंकी निर्माण’ शिर्षकमा बजेट छुट्याएको छ । तर, अहिले त्यहाँकै जनता बाढीले पाइप बगाउँदा खानेपानीको समस्यामा छटपटाइरहेका छन । नगरपालिकाले विनियोजन गरेको बजेटअनुसार गर्न किन आनाकानी हुन्छ? कि बजेट रकम कुम्ल्याउने दाउँ त होइन भन्ने आशंका नगरिरहन पक्कै सकिन्छ ।

बजेट शिर्षक छुट्टिएर बन्न नसकेका धारा तथा खानेपानी संरचना अन्य धेरै छन । ती योजना किन बन्दैनन् । किन सधैँको खानेपानीको समस्या हुन्छ । त्यसबारे बोल्नुपर्ने निकाय कुन हो ।

गत बर्ष मात्रै सडक सञ्जालमा जोडिएको छिस्ती क्षेत्र नै खानेपानीको समस्या भयाभह रुपमा छ । तर, खानेपानीको उचित व्यवस्थापन गरिदिने कस्ले? कहिलेसम्म सास्ती खेप्ने ? सम्वन्धित निकायले सोच्नुपर्ने बेला आएको छ ।

बजेट विनियोजन भएपछि धारा बन्नुपर्छ। ट्यांकी बन्नुपर्छ । पाइप उपलव्ध हुनुपर्छ । तर, आफ्नो क्षेत्रमा कस्ता बजेट आए भनेर थाहा नभएका सोझा जनताप्रति कार्यान्वयन पक्षको रवैया कहिले सम्म?