दक्षिण एसियाली क्षेत्रको स्थिरता नाजुक अवस्थामा छ । र, भारत–पाकिस्तानबीच परमाणु युद्धको सम्भावना बढ्दो छ ।
इस्लामाबाद । कश्मीर मुद्दामा अमेरिकाद्वारा भारतको समर्थन गर्दा चिढिएको पाकिस्तानले परमाणु युद्धको आशङ्का गरेको छ । पाकिस्तानका एक शीर्ष सुरक्षा अधिकारीका अनुसार दक्षिण एसियाली क्षेत्रको स्थिरता नाजुक अवस्थामा छ । र, भारत–पाकिस्तानबीच परमाणु युद्धको सम्भावना बढ्दो छ ।
राष्ट्रिय सुरक्षा सल्लाहकार लेफ्टिनेन्ट जनरल नसिर खान जंजुआ (रिटायर्ड) ले राष्ट्रिय सुरक्षासम्बन्धी सेमिनारलाई सम्बोधनका क्रममा भारतले कैयौं घातक हतियार सङ्ग्रह गरेको र भारतका तर्फबाट पाकिस्तानलाई बारम्बार परम्परागत युद्धको धम्की दिइने गरेको बताए । त्यसैले परमाणु युद्धको सम्भावनालाई नकार्न नसकिने उनको भनाइ छ ।
एनएसएले दाबी गरेको छ, ‘पाकिस्तानले जबदेखि अमेरिकासँग गठबन्धन गर्यो, यो त्यतिबेलादेखि नै आतङ्कवादसँग जुधिरहेको छ । पाकिस्तानले आतङ्कवादसँगको लडाइँमा धेरै मूल्य चुकाएको छ, तर विश्व समुदायले यो नोक्सानीलाई कहिल्यै स्वीकार गरेन । बरु उल्टै पाकिस्तानमाथि अमेरिकाले हक्कानी नेटवर्क र तालिबानसँग सम्बन्ध राखेको आरोप लगायो ।’
अफगानिस्तानमा तालिबान मजबुत हुँदा अमेरिकाले त्यहाँ आफ्नो असफलताको दोष पाकिस्तानमाथि थोपरेको उनको भनाइ छ ।