फुसको छाना हटाएर टिन लगाइदिने

आर्थिक वर्ष २०७५/७६ को बजेटमै सो अभियानका लागि २५ लाख गाउँपालिकाले छुट्याएको र २५ लाख रूपैयाँ हेविटेड नेपाल र सहारा नेपालले लगानी गर्ने भएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।

झापा गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्रका फुसका छाना भएका घरमा जस्ता पाता (टिन) लगाइदिने भएको छ । ‘फुस हटाऔँ, टिन लगाऔँ’ भन्ने मूल नारासहित विपन्न वर्गका परिवारको घरमा भएको फुसको छाना हटाएर गाउँपालिकाले टिन लगाइदिने भएको हो ।

आर्थिक वर्ष २०७५/७६ को बजेटमै सो अभियानका लागि २५ लाख गाउँपालिकाले छुट्याएको र २५ लाख रूपैयाँ हेविटेड नेपाल र सहारा नेपालले लगानी गर्ने भएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।

विशेषगरी सन्थाल, राजवंशी, गनगाई, मुस्लिम र मधेशी समुदायको बसोबास रहेको गाउँपालिकामा सात अाेटा वडा रहेकामा प्रत्येक वडाका २५० देखि ३०० घर अझै पनि फुसकै छाना रहको अध्यक्ष साहको भनाइ थियो ।

उनले भने, “विपन्न समुदाय छन् श्रम गरेको आम्दानीले उनीहरुलाई बिहान बेलुकाको छाक टार्नै पुग्दैन । घर कमजोर हुँदा हावा हुण्डरी, पानी र सर्पको डर हुन्छ । त्यसबाट बचाउनका लागि गाउँपालिकाबाटै हेविटेड नेपाल र सहारा नेपालको सहयोगमा टिन लगाइदिन लागेका छौँ ।”

दशैँपछिदेखि नै निर्माण कार्य सुरु गर्न हाल सात अाेटै वडामा फुसको छानाको तथ्याङ्क सङ्कलन भइरहेको अध्यक्ष शाहले बताए ।

विसं २०६८ को जनगणनाअनुसार सो गाउँपालिकाको जनसङ्ख्या ३४ हजार ६०१ छ । अध्यक्ष साहले करिब एक हजार ५ सय परिवारको घरमा अझै फुसकै छाना रहेको हुँदा यस आर्थिक वर्षभित्र ७ सय ५० घरमा टिन लगाइदिने र बाँकी २०७६/७७ मा पूरा गर्ने बताए ।