सरकारी तथ्याङ्कअनुसार, मङ्गलबारसम्म विगत एक सातामा जापानमा लु लागेर ६५ जनाको मृत्यु भएको छ । यतिमात्र हैन, लुबाट पीडित २२ हजार ६४७ जनालाई अस्पतालमा भर्ना गरिएको छ ।
हालै इतिहासकै सबैभन्दा भयङ्कर वर्षापछि आएको बाढीको सामना गरेको जापानमा अहिले गर्मीको मार परेको छ । सरकारी तथ्याङ्कअनुसार, मङ्गलबारसम्म विगत एक सातामा जापानमा लु लागेर ६५ जनाको मृत्यु भएको छ । यतिमात्र हैन, लुबाट पीडित २२ हजार ६ सय ४७ जनालाई अस्पतालमा भर्ना गरिएको छ ।
फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीले यसको जानकारी दिएको हो । एजेन्सीले भनेको छ, उसले वर्ष २००८ देखि हिट स्ट्रोकले मृत्यु हुनेको सङ्ख्या राख्दै आएको छ तथा विगत दस वर्षमा यस पटक सबैभन्दा बढीको मृत्यु भएको हो ।
जुलाईको सुरुआतदेखि अहिलेसम्म लुको प्रभावमा परेर ८० जनाको मृत्यु भएको छ भने करिब ३५ हजार व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको एजेन्सीले मङ्गलबार जानकारी दिएको छ । मृत्यु हुनेमा एक जना ६ वर्षका बालक पनि परेका छन्, जुन बाहिर खेलेर घर फर्केपछि बेहोश भएका थिए ।
सरकारका प्रवक्ता योशिदे सुगाले भने, ’भयङ्कर लुले देशलाई आफ्नो प्रभावमा लिएको छ, त्यसकारण विद्यार्थीहरुलाई बचाउनका लागि आपातकालीन पाईला चाल्नुपर्नेछ ।’ सरकारले भनेको छ कि सबै स्कुललाई वातानुकूलित बनाउन रकम निकासा गर्नेछ । अहिले जापानका आधाजसो सरकारी स्कुलमा मात्रै एअरकन्डिसन छ । देशमा गर्मी बिदाको समय पनि लम्ब्याउन सकिने बताइएको छ ।
सोमबार कुमागया सहरको तापक्रम ४१.१ डिग्री सेल्सियस रह्यो । यसका अतिरिक्त टोकियोको मेट्रो क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियस रह्यो । देशको अधिकांश क्षेत्रमा तापक्रम सामान्यभन्दा बढी छ ।