नेपाल, भारत तथा यूएई सम्मिलत गैरकानुनी मानव बेचबिखन सञ्जाललाई भारतको हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका (आरजीआईए) अधिकारीले पक्राउ गरेका छन् ।
दिल्ली महिला आयोग (डीसीडब्ल्यू)ले दिल्लीको मुनिर्का क्षेत्रबाट १६ जना नेपाली युवतीको उद्धार गरेको छ । ती युवतीहरुलाई गैरकानुनी मानव बेचबिखन गरी इराक र कुवेत लैजाने क्रममा दिल्ली पुर्याइएको बताइएको छ ।
डीसीडब्ल्यका कार्यकर्ताले ती नेपाली युवतीहरुलाई राति एक बजे छापा मारेर बचाउन सफल भएका हुन् । डीसीडब्ल्यकी प्रमुख स्वाति मालिवालले ट्विट गर्दै भनेकी छन्, ‘यी केटीहरुलाई गैरकानुनी मानव बेचबिखनका रुपमा मध्यपूर्व लैजान नेपालबाट भारत ल्याइएको हो ।’
‘लुकीछिपी कुवेत र इराक लैजान मानव तस्करहरुले १६ जना नेपाली केटीहरुलाई दिल्ली पुर्याए । उनीहरुको पासपोर्ट दलालहरुले खोसिसकेका छन् । एउटा सानो कोठामा लुकाइएका तिनीहरुलाई आज राति हामीले उद्धार गरेका हौं । यो मानव तस्करी आठ महिनादेखि चलिरहेको छ । सात जना युवतीलाई १५ दिन पहिले कुवेत र इराक पुर्याइएको छ, तिनीहरुको अवस्था केकस्तो छ, हामीलाई कुनै जानकारी छैन ।’ मालिवालले ट्विटमा भनेकी छन् ।
गैरकानुनी रुपमा दुबई जाने चार नेपाली पक्राउ
यसैबीच नेपाल, भारत तथा यूएई सम्मिलत गैरकानुनी मानव बेचबिखन सञ्जाललाई भारतको हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका (आरजीआईए) अधिकारीले पक्राउ गरेका छन् ।
नेपाली राजदूतावासबाट गैरकानुनी कागजपत्र, नो अब्जेक्सन लेटर (एनओसी) बनाएर चारजना नेपालीलाई अनधिकृत एजेन्टले हैदराबाद हुँदै मध्यपूर्व पठाउन लाग्दा भारतीय प्रहरीले पक्राउ गरेको हो । छ महिनादेखि हैदराबादमा सानोतिनो काम गर्दै आइरहेका ती नेपाली युवाले दुबईमा काम गर्न भिजिट भिसा लिएका थिए ।
आरजीआईएका प्रहरी अधिकारी शिव कुमारले उनीहरुलाई गिरफ्तार गरिएको बताए । ‘हामीले अध्यागमन विभागबाट एउटा गुनासो पाएका थियौं, लगत्तै हिजो चार जना नेपालीविरुद्ध फर्जी तथा नक्कली कागजातको मुद्दा पनि दायर गरिएको थियो,’ उनले भने ।
समातिएका चार नेपालीमा कृष्ण न्यौपाने, दीपेन्द्र दाहाल, पुरुषोत्तम देवकोटा तथा प्रमोद निरौला छन् । शिवकुमारका अनुसार, ती चारै जना उडान नम्बर एआई–९५१ बाट दुबई जाँदै थिए । कुनै पनि नेपाली भारत हुँदै यूएई जान पर्यो भने भारतस्थित नेपाली दूतावासबाट नो अब्जेक्सन लेटर अनिवार्य लिएको हुनुपर्ने व्यवस्था छ ।
डकुमेन्ट्स चेकजाँच गर्दा उनीहरुका कागजपत्र नक्कली भएको फेला परेको हो । उनीहरुसँग भएको एनओसी लेटर दिल्लीसिथ्त नरेश अलेपु भन्ने एजेन्टले दिएको पाइएको छ । समान्यतया एनओसी लेटर प्रत्येकको अलगअलग हुन्छ, तर यनीहरुसँग एउटै सामूहिक किसिमको थियो ।