पाकिस्तान मतगणनाः पूर्व क्रिकेटर खानको प्रारम्भिक अग्रता

पूर्व प्रधानमन्त्री नवाज शरिफ नेतृत्वको सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग–नवाजले मतदानमा सेनाको सहयोगमा व्यापक धाँधली भएको आरोप लगाउँदै हालसम्मका अनाधिकृत, अपूर्ण चुनावी परिणामहरुलाई स्वीकार गर्न नसकिने जनाएको छ ।

पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको जारी मतगणनाको प्रारम्भिक नतिजामा पूर्व क्रिकेटर इमरान खानको पार्टीलाई बहुमत प्राप्त हुने सङ्केत देखिएको छ ।

पूर्व प्रधानमन्त्री नवाज शरिफ नेतृत्वको सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग–नवाजले मतदानमा सेनाको सहयोगमा व्यापक धाँधली भएको आरोप लगाउँदै हालसम्मका अनाधिकृत, अपूर्ण चुनावी परिणामहरुलाई स्वीकार गर्न नसकिने जनाएको छ ।

मतगणना जारी रहेपनि खानका समर्थकहरु सडकमा नाराबाजी गर्दैै खुसीयाली मनाउन थालेका छन् । विपक्षी दलहरुले भने सैनिकको सहयोगमा चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

स्थानीय सञ्चारमाध्यमले चुनाव सकिएको १३ घण्टाभन्दा बढीको अवधिमा आधाभन्दा कममात्र मतगणना भएको जनाएका छन् र यो अनपेक्षित ढिलाईले चुनावी नतिजाको वैधानिकतामा नै प्रश्न उब्जिने खतरा बढेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

पाकिस्तान चुनाव आयोगले चुनावमा धाँधली भएको भन्ने आरोपको खण्डन गर्दै सफ्टवेयरमा समस्या आएका कारण चुनावी परिणाम घोषणामा ढिलाई भएको स्पष्ट गरेको छ । “यो चुनाव १०० प्रतिशत निष्पक्ष र पारदर्शी रुपमा सम्पन्न भएको छ,” प्रमुख निर्वाचन आयुक्त सरदार मुहम्मद राजाले बताए ।

राजाले चुनावको परिणाम कहिले घोषणा गरिन्छ भन्ने जानकारी दिन अस्वीकार गरे ।

सन् २०१३ देखि नै सत्तामा रहेको पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) ले चुनावी परिणामलाई “खुलेआम धाँधली” को संज्ञा दिँदै यस परिणामलाई स्वीकार्न नसकिने जनाएको छ, र यस नतिजाका बिरुद्धमा राजनीतिक एवं कानुनी विकल्प प्रयोग गरिने स्पष्ट गरेको छ ।

“आजको यस घटनाक्रमले पाकिस्तानलाई ३० वर्षअघिको अवस्थामा फर्काएको छ … आमजनता यसलाई स्वीकार्न तयार छैनन्” पार्टी नेता शहबाज शरिफले भने ।

कुनै समय पाकिस्तानको प्रमुख राजनीतिक शक्तिका रुपमा रहेको पाकिस्तान पिपुल्स पार्टीले समेत चुनावमा व्यापक धाँधली भएको आरोप लगाएको छ । आफ्नो पार्टीका प्रतिनिधिहरुलाई मतगणना स्थलमा प्रवेश गर्न समेत नदिइएको सो पार्टीका अध्यक्ष बिलावल भुट्टोले ट्वीटमार्फत जानकारी गराएका छन् ।

कुल २७० स्थान रहेको राष्ट्रिय सभामा सरकार गठनका लागि १३७ स्थान आवश्यक हुन्छ ।

चुनावमा दिनहुँ हिंसात्मक घटना हुन थालेपछि देशभरका ८५,००० मतदान स्थलमा करिब ३५०,००० सुरक्षाकर्मी परिचालन गरिएको थियो । राष्ट्रिय सभाका २७० स्थान र चार अाेटा प्रान्तीय सभाका ५७७ स्थानका लागि ११,००० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । रासस/एएफपी