पर्यटनमन्त्री अधिकारी विवादमा, गैरबौद्धधर्मावलम्बीलाई नियुक्ति

पटक पटक विवादमा आउने गरेका पर्यटन मन्त्री अधिकारीले लुम्बिनी विकास कोषमा गैरबौद्धधर्मावलम्बीलाई सदस्य सचिव नियुक्त गरेको भन्दै विवादमा आएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी फेरि विवादमा तानिएका छन् । पटक पटक विवादमा आउने गरेका पर्यटन मन्त्री अधिकारीले लुम्बिनी विकास कोषमा गैरबौद्धधर्मावलम्बीलाई सदस्य सचिव नियुक्त गरेको भन्दै विवादमा आएका हुन् ।

मन्त्री अधिकारीले लुम्बिनी विकास कोषको सदस्य सचिवमा विष्णु ढकाललाई नियुक्त गरेका थिए । गैरबौद्धधर्मावलम्बीलाई सदस्य सचिवमा नियुक्त गरेको भन्दै विभिन्न जनजाती सङ्घसङ्गठनहरुले विरोध जनाएका छन् । बौद्धधर्मावलम्बी र लुम्बिनी क्षेत्रको हित विपरीत नियुक्त गरिएका ढकाललाई तत्काल हटाउन उनीहरुले माग गरेका छन् ।

नेपाल आदिबासी जनजाति महासङ्घ, नेपाल बौद्ध महासङ्घ, नेपाल तामाङ घेदुङ, नेवाःदेय दवु, तमु ह्युल छो ज धि, नेपाल शेर्पा सङ्घ तथा वालुङ उत्थान समाजले संयुक्त रुपमा विज्ञप्ति जारी गरी पवित्र तीर्थस्थल र बौद्धधर्मको विकास गर्न गैरबौद्धधर्मावलम्बीलाई राख्नु धर्म र संस्कृतिमाथि प्रहार भएको जनाएको छ ।

आदिबासी जनजाति महासङ्घका अध्यक्ष जगतबहादुर वरामले बुद्ध जन्मिएको देश भएकाले पहिचान देखाउन लुम्बिनी क्षेत्र र बौद्धधर्मावलम्बीको विकास गर्न कोषको मुख्य भूमिका रहने भन्दै तत्काल फिर्ता नलिए सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । कोषको सदस्य सचिवमा हालसम्म बौद्धधर्मावलम्बीका विज्ञ नै रहँदै आए पनि यस पटक मात्र गैरजनजातीलाई नियुक्त गरिएको जनाइएको छ ।