पेटीमा यत्रतत्र थुपारिएका तारमा अल्झेर सडकमा दुर्घटना हुने सम्भावना छ । तर, आफ्नै आँखा अगाडिको यो समस्या समाधान नगरी विद्युत् प्राधिकरण मुकदर्शक बनेको छ ।
गत असार दोस्रो साता लागेपछि उपत्यका क्षेत्रभित्रका केही ठाउँका पोल, पोलमा टागिएका तार र ट्रान्सफर्मर उच्च भोल्टेजका कारण पड्किएर जले । काठमाडौंका झन्डै दर्जन ठाउँहरुका पोलमा टाँगिका तार जलेर नष्ट भए । तिनै जलेका तार तथा उपकरणहरु केही ठाउँबाट हटाइए पनि धेरै ठाउँमा अझै त्यसै लथालिङ्ग छन् । तिनलाई हटाउन न विद्युत् प्राधिकरणको ध्यान गयो, न त महानगरपालिकाको नै । झन्डै एक महिना बित्दासमेत जलेर नष्ट भएका तार नहटाइँदा उपत्यका कुरुप हुनुका साथै प्रत्यक्ष रुपमा पैदलयात्रुलाई सास्ती हुने गरेको छ ।
काठमाडौंको लैनचौरका झन्डै आधा दर्जन विद्युत् पोलहरुमा टाँगिएका तार जलेका थिए । जलेर टुक्राटुक्रा भएका तार पैदलयात्रु आवतजावत गर्ने ठाउँबाट अझै हटाइएको छैन । पेटीमा यत्रतत्र थुपारिएका तारमा अल्झेर सडकमा दुर्घटना हुने सम्भावना छ । तर, आफ्नै आँखा अगाडिको यो समस्या समाधान नगरी विद्युत् प्राधिकरण मुकदर्शक बनेको छ । त्यस्ता नष्ट भएका सामग्री हटाउने क्षेत्राधिकारमै विवाद भएर पो ती तार नहटाइएको हो कि भन्ने आशङ्का अहिले स्थानीयमा उब्जिएको छ ।
दैनिक लैनचौर भएर अफिस आवतजावत गर्ने गोरखाका विष्णु शर्माले जलेका तार नहटाइँदा पैदलयात्रु निकै समस्यामा परेको बताउँछन् । ‘म आफैँ त्यही बाटो आउने जाने गर्छु । एक दिन त्यही तारमा खुट्टा अल्झेर झन्डै लडेको,’ उनले भने, ‘तार विद्युत् प्राधिकरण या महानगरपालिका जस्ले हटाए पनि हुन्छ । यसले र उसले हटाउने हो भनेर बस्यो भने अझै महिनौँ लाग्न सक्छ ।’
उनीमात्र होइन अन्य व्यक्ति पनि सडकका पेटीमा लत्रेका र नष्ट भएका तार नहटाउँदा जोखिम मोलेर आवतजावत गर्दै आएका छन् । यसतर्फ नेपाल विद्युत् प्राधिकरण या काठमाडौं महानगरपालिकालगायत सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ ।