ईपीएसमार्फत् कोरिया जान हवाई भाडा घट्यो, अब ४५ हजार २९२ रुपैयाँ

यसअघि ५ सय ३० डलर (५८ हजार २ सय ७२ रुपैयाँ) रहेको हवाई भाडा साउन २० गतेदेखि ४ सय ११ डलर (४५ हजार २ सय ९२ रुपैयाँ) कायम भएको छ ।

रोजगारीका लागि कोरिया जान अब ४५ हजार २ सय ९२ रुपैयाँ मात्र लाग्ने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरिया जाने नेपाली कामदारलाई लक्ष्य गरी हवाई भाडा घटाइएको हो ।

ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले सरकारले पहिलो पटक विद्युतीय टेन्डर गरेर कोरिया जाने नेपाली कामदारको हवाई भाडा करिब १३ हजार रुपैयाँले घटाइएको जानकारी दिए । यसअघि ५ सय ३० डलर (५८ हजार २ सय ७२ रुपैयाँ) रहेको हवाई भाडा साउन २० गतेदेखि ४ सय ११ डलर (४५ हजार २ सय ९२ रुपैयाँ) कायम भएको छ । यसरी प्रतिव्यक्ति १ सय १८ डलर (करिब १३ हजार रुपैयाँ) बचत हुने भएको छ । विद्युतीय टेन्डरमार्फत सी लिड्ढस् टुर एन्ड ट्राभल्स प्रालिलाई कोरिया जाने नेपाली कामदारको हवाई टिकटको व्यवस्थापन गर्ने जिम्मा दिइएको छ ।

आकर्षक तलब पाइने भएकै कारण बर्सेनि कोरिया जान भाषा परीक्षा पढ्नेको सङ्ख्या बढिरहेको छ । यो वर्ष करिब सात हजार ९ सय ९८ जना नेपालीले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका छन् । हालसम्म ६२ हजार ४ सय ७३ जना नेपालीले भाषा परीक्षा उत्तीर्ण गरेका छन् । जेठ मसान्तसम्मको विवरणअनुसार ५४ हजार ३ सय ६३ जना नेपाली कामदार कोरिया पुगिसकेका छन् ।