उद्योगी व्यवसायीका अगाडि प्रचण्डले भने— नेपालबाहिर ककसको लगानी छ, हामीलाई थाहा छ

मङ्गलबार वीरगन्जमा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य सङ्घको राष्ट्रिय भेलामा दाहालले युरोप, मध्यपूर्वलगायतका क्षेत्रमा भएको लगानीको जानकारी आफूहरूसँग सुरक्षित रहेको दाबी गरेका हुन् ।

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालबाहिर ककसले कति लगानी गरिरहेका छन् भन्ने विषयमा आफूहरू जानकार रहेको बताएका छन् ।

मङ्गलबार वीरगन्जमा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य सङ्घको राष्ट्रिय भेलामा दाहालले युरोप, मध्यपूर्वलगायतका क्षेत्रमा भएको लगानीको जानकारी आफूहरूसँग सुरक्षित रहेको दाबी गरेका हुन् ।

राज्यले वातावरण नबनाएका कारण नेपालबाहिर लगानी भएको बताउँदै दाहालले वातावरण बनाउने हो भने बाहिरको पुँजीसमेत नेपाल आउने दाबी गरे । ‘देशभित्रका दुईचार उद्योगसमेत सुरक्षित भएनन् भन्ने महसुस भयो भने बाहिरको लगानी पनि आउँदैन । त्यसैले लगानीको वातावरण बनाउनुपर्छ,’ उनले भने ।

अहिलेको सरकारले उत्पादन वृद्धि गर्न, रोजगारी बढाउन लागि परेको छ त्यसको लागि निजी क्षेत्रले सहयोग गर्नुपर्ने उनले बताए । ‘अबको नेपाल निजीक्षेत्रलाई प्रोत्साहित गरेर देश समृद्ध बन्छ भन्ने हो त्यसैले सहकार्य गर्नुपर्छ,’ उनले भने ।

स्थानीय तथा प्रदेश सरकारले जथाभावी कर उठाएको प्रसङ्ग निकाल्दै प्रचण्डले त्यो बेला पृथ्वीनारायण शाहले हरेक राज्यमा व्यापारीले कर तिर्नुपर्ने अवस्थाका कारण एकता गर्ने सोच पनि बनाएकाले पृथ्वीनारायण सफल भएको बताए । ‘बाइसे, चौबीसे सबै राज्यमा जाँदा सबै राज्यमा कर भएकाले व्यापारी आजित थिए, पृथ्वीनाराणले त्यो पनि सोचेकाले उनी सफल भए,’ उनले भने ।