गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा विक्री वितरणा विरुद्ध २४४ मुद्दा

न्यूनस्तर, मिसावट तथा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा विक्रिवितरण गर्नेलाइ कारबाही गर्न २ सय ४४ थान मुद्दा दायर भएका छन् । खाद्य ऐन, २०२३ अनुसार मापदण्ड विपरित उत्पादन गर्ने र विक्रिवितरण गर्ने विभिन्न खाद्य उद्योग विरुद्ध मुद्दा दायर भएका हुन् । विभिन्न जिल्ला प्रशासन कार्यालयमा दायर भएका मुद्धाहरुमध्ये सवैभन्दा बढि पानीका मुद्दा छन् । पिउने पानीका ४१, तेलका ३८, दुधका १६ तथा अन्य खाद्य पदार्थका छन् । उक्त मुद्धाहरुमध्ये ६० थान दुषित खाद्यवस्तु, १२३ मुद्धा न्युन गुणस्तरका खाद्यवस्तु र बाँकी लेवल लगायत विवरण नमिलेका वस्तुहरु छन् ।

आर्थिक बर्ष २०७४÷०७५ मा २ हजार ८ सय १३ नमुना संकलन गरिएको थियो । आवको अन्त्यसम्म २ हजार ४ सय ८५ प्रयोगशाला विश्लेषण प्रतिवेदन प्राप्त गरेकोमा ३ सय ५४ नमुना अर्थात १४. २ प्रतिशत मापदण्ड विपरित रहेको पाइएको छ । जसमध्ये सवैभन्दा धेरै दुध तथा दुग्धजन्य पदार्थ १ सय १ रहेका थिए । त्यसपछि खाद्यान्न तथा दलहन ६९, प्रशोधित पिउने पानी ६६, तेल तथा घिउ ३२, दाना पदार्थ ९ र बाँकी अन्य खाद्य पदार्थ रहेको छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार विभिन्न विषयका ४४ उजुरी उपर कारबाही गरिएको थियो । उक्त अवधिमा ५ सय ९७ नयाँ उद्योगलाई अनुज्ञापत्र, १ हजार ५ सय ९८ उद्योग नवीकरण र १ हजार ३ सय २८ नयाँ उद्योग स्थापना गर्न सिफारीस गरिएको छ ।