समयसँगै जुन सम्बन्धलाई तपाईंले बलियो बनाउनुभएको थियो त्यो पनि प्रभावित हुन सक्छ । यहाँसम्म कि नयाँ संस्थामा बोससँग तपाईंको सम्बन्ध पहिला जस्तै बलियो रहिरहन्छ भन्ने कुनै ग्यारेन्टी पनि हुन्न । त्यसकारण, निर्णय लिनुअघि सय चोटि सोच्नुहोस् ।
टिम म्यानेजर अथवा बोस तपाईंको व्यावसायिक जीवनका सर्वोत्तम मेन्टर हुन् । कम्पनीमा तपाईंका हरेक आरोहअवरोहमा उनले मार्गदर्शन गरेका होलान् । यस अर्थमा उनी तपाईंका लागि एउटा बलियो स्तम्भ हुन् । तर, अब अचानक उनी अर्को कुनै अझ राम्रो तथा ठूलो कम्पनीमा जाने निर्णय गरेका छन् भने तपाईं असमञ्जसमा पर्नुहुनेछ । यस्तो परिस्थितिमा दिनहुँ आइपर्ने चुनौतीको सामना तपार्इं एक्लैले गर्नुपर्ने हुन्छ र यसका लागि आफूलाई तयार पार्नु हुन्छ । त्यसैबेला बोसको नयाँ अफिसबाट तपाईंलाई पनि अफर आउँछ । अब यस्तो बेला तपाईंको दिमागमा प्रश्न उठ्न सक्छ, त्यो अफिसमा जाऊँ कि नजाऊँ ?
हुन त यस्तो अवस्थामा सामान्यतया तपाईं यो मौकालाई चुकाउनुहुन्न र फेरि पहिलाको बोसको सान्निध्यको आनन्द लिनुहोला । यस्तो निर्णयको फाइदा बेफाइदा दुवै हुन सक्छ । त्यसैले अन्तिम निर्णय लिनुभन्दा पहिला फाइदा र बेफाइदाको आकलन गर्नु जायज हुन्छ । पुरानै बोससँग नयाँ कम्पनीमा काम गर्नु भनेको पहिले जस्तै कम्फर्ट लेबल र अन्डरस्ट्यान्डिङ हुनु हो । साथै, नयाँ परिवेशमा स्वयम्लाई प्रमाणित गर्ने चुनौती पनि हो ।
डीओओआर ट्रेनिङ एन्ड कन्सल्टिङ इन्डिया प्राइभेट लिका सीईओ सन्दीप बुद्धिराजा भन्छन्, ’परिवर्तनले अनिश्चितता ल्याउँछ तथा नयाँ संस्थानमा नयाँ रोलमा गएका पुराना बोसका केही आवश्यकता हुन सक्छन्, जसले नयाँ संस्थानमा उनले आफूलाई छिट्टै अब्बल स्थापित गर्न सकून् । यसकारण उनले पुरानो टिमका केही विश्वासिला सहकर्मीहरुलाई आफूसँग लैजान चाहन्छन् । त्यसै पनि एचआर वृत्तमा आमधारणा के छ भने, जब कुनै नयाँ कम्पनीमा एकै चोटि एउटा ग्रुप जान्छ भने उसले पहिलेकै कम्पनीमा जस्तै जोखिम उठाइरहेको हुन्छ । पूरै टिम आफ्नो संस्कार र राजनीतिक मुद्दा सँगै लिएर गएको हुन्छ । तसर्थ, नयाँ कम्पनीले नयाँ टिमका कर्मचारीहरुको क्षमता र विश्वासलाई कम मूल्याङ्कन गरेर आकलन गर्न थाल्छन् । र, यस्तो लामो समयसम्म हुन सक्दैन ।’
कुनै पनि परिवर्तनसँग अनिश्चितता आउँछ नै । हो, यो सम्भावनालाई पूरै नकार्न सकिँदैन कि बोससँगै नयाँ अफिसमा जानु तपाईंका लागि लाभप्रद हुन सक्छ । किनकि, उनको दृष्टिमा तपाईंप्रति जुन सकारात्मक धारणा छ, त्यसले नयाँ अफिसमा राम्रो भूमिका पाउन मद्दत गर्न सक्छ । हुन त बोस आफ्नै विश्वसनीयता प्रमाणित गर्न बढी सक्रिय हुने हुनाले तपाईंलाई फाइदा हुने अवसर बढी हुन्छ । तर, यस्तो कामकाजी सम्बन्धमा कर्मचारीले सर्वोत्तम निर्णय लिने क्षमता गुमाउने गर्छ । यसकारण बोससँगै कुनै नयाँ कम्पनीमा जानु व्यक्तित्व विकासका ती तमाम अवसरहरुलाई जोखिममा पार्नु जस्तो हो, जुन अवसर तपाईं पुरानै अफिसमा पाउन सक्नुहुन्थ्यो । यति मात्र होइन, पुरानो अफिसको जस्तो सपोर्टिङ सिस्टम पनि गुमाउन सक्नुहुन्छ ।
केपीएमजी इन्डियाकी प्रमुख (पिपल, पर्फर्मेन्स ऐन्ड कल्चर) शालिनी पिल्लईले भनिन्, ‘यदि तपाईं पुरानो संस्थाको ग्रोथ प्लेटफर्म बुझ्नुहुन्छ र त्यसमा विश्वास गर्नुहुन्छ भने अवसरका व्यापक परिदृश्य देख्न तपाईंलाई कठिन हुँदैन । बोसको नजिक जाने क्रममा आउने सुनौला अवसरबाट तपाईं टाढा हुनुहुन्छ । एकातर्फ तपाईंको हातबाट व्यक्तित्व विकासका अवसर चिप्लिन्छ भने अर्कोतिर नयाँ वातावरणसँग तालमेल मिलाउने चुनौती हुन्छ ।’
सिनियर एचआर प्रोफेसनल गीतिका जोशीको सुझाव पनि यस्तै छ । उनी भन्छिन्, ‘यस्तो कदम चाल्दा अनिश्चितताको सामना त हुन्छ नै, समयसँगै जुन सम्बन्धलाई तपाईंले बलियो बनाउनुभएको थियो त्यो पनि प्रभावित हुन सक्छ । यहाँसम्म कि नयाँ संस्थामा बोससँग तपाईंको सम्बन्ध पहिला जस्तै बलियो रहिरहन्छ भन्ने कुनै ग्यारेन्टी पनि हुन्न । त्यसकारण, निर्णय लिनुअघि सय चोटि सोच्नुहोस् ।’