विद्यालयको खाली जग्गामा विभिन्न जातका फलफूल उत्पादन गर्ने विद्यार्थीहरुको उद्देश्य छ ।
तामाकोशी गाउँपालिका १ भीरकोटमा रहेको नारायणी माविका विद्यार्थीहरुले शौचालयमा पिसाब जम्मा गरी अर्गानिक फलफूल खेती गर्ने भएका छन् । विद्यालयको खाली जग्गामा विभिन्न जातका फलफूल उत्पादन गर्ने विद्यार्थीहरुको उद्देश्य छ ।
वातावरण संरक्षण शिविर (एक्का) नेपालको आयोजना र एक्सन मिडिएरको सहयोगमा दोलखाको चरिकोटमा आयोजित प्रकृति क्लब अन्तरक्रिया तथा ज्ञानबजार प्रतियोगिता कार्यक्रममा आफ्नो अवधारणा प्रस्तुत गर्दै नारायणी माविका विद्यार्थीहरुले २५ हजार रुपैयाँ पुरस्कारसमेत जितेका छन् । यस्तै हर्बल गार्डेन निर्माणका लागि भन्दै तामाकोशी गाउँँपालिका २ झुलेको जनप्रभात माविले पनि २५ हजार रुपैयाँको पुरस्कार जितेको छ । विद्यालयमै हर्बल गार्डेन बनाएर प्राथमिक उपचारका लागि आवश्यक जडीबुटीहरु त्यहीँ उत्पादन गर्ने तयारी विद्यार्थीहरुले गरेका छन् ।
ज्ञानबजार प्रतियोगिता कार्यक्रममा भीरकोटका ५ ओटा र झुलेका ४ ओटा विद्यालयका विद्यार्थीहरुले विद्यालयको वातावरण सुधारका लागि विभिन्न अवधारणा पत्रहरु सार्वजनिक गरेका थिए । पछिल्लो समय विनास हुँदै गएको वातावरणलाई संरक्षण गरी विद्यालयलाई हराबरा बनाउने उद्देश्य उनीहरुले राखेका थिए ।
यस्तै संस्थाले एक बर्ष भरी गरेको कामको आधारमा उत्कृष्ट पानी, स्वास्थ्य र सरसफाईमैत्री विद्यालयको रुपमा भीरकोटको गणेश आधारभूत र झुलेको जनता आधारभूत विद्यालय उत्कृष्ट भएका थिए । ती विद्यालयले पनि २५÷२५ हजार पुरस्कार पाएका छन् । यसैगरी भित्ते पत्रिका प्रकाशनमा इन्द्रावती प्रावि भीरकोट उत्कृष्ट भएको छ ।
एक्का नेपालले एक्सन मेडिएरको सहयोगमा भीरकोटका ५ ओटै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, बालमैत्री धारा निर्माण गरेको छ भने विभिन्न शैक्षिक र खेलकुदका सामग्रीहरु सहयोग गरेका छन् । यस्तै झुलेमा रहेको ४ ओटै विद्यालयमा पनि छात्रछात्रामैत्री शौचालय, बालमैत्री धारा, समुदायमा खानेपानीको ट्याङ्की, महिलाहरुको जीवनसुधारका लागि गोठसुधार र जुठ्यान सुधार गर्नुका साथै महिनावारी सरसफाइसम्बन्धी विभिन्न जनचेतनामूलक तालिम दिनुका साथै आवश्यक सामग्री हस्तारण गरिएको एक्का नेपालका कार्यक्रम अधिकृत विपिन कुमार श्रेष्ठले जानकारी दिए ।
एक्का नेपालले दोलखामा २००९ बाट विद्यालयको वातावरण सुधारसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । बैतेश्वर गाउँपालिकाको मिर्गेबाट काम सुरु गरेको एक्का नेपालले हाल तामाकोशी गाउँपालिकाको वडा नम्बर १ भीरकोट र वडा नम्बर २ झुलेमा विद्यालय वातावरण सुधारको कामहरु गरिरहेको छ । यसअघि वैतेश्वर गाउँपालिकाको मिर्गे, गैरीमुदी र नाम्दुका विभिन्न विद्यालयमा काम सम्पन्न गरिसकेको छ ।