प्रधानमन्त्री कार्यालयले सोमबार ७४ पृष्ठको प्रगति विवरण सार्वजनिक गर्दै पाँच महिनाको अवधिमा यातायात क्षेत्रको सिन्डिकेट अन्त्य, सुन तस्करमाथि कारबाही र तस्करी नियन्त्रणमा प्रभावकारी कदम चालेको उल्लेख गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पाँच महिने प्रगति सार्वजनिक गरेका छन् । पाँच महिनाको अवधिमा हवाई सेवादेखि पेट्रोलियम चुहावट रोक्न लकिङ प्रणाली जडानसम्मलाई मुख्य प्रगतिका रुपमा राखिएको छ ।
प्रधानमन्त्री कार्यालयले सोमबार ७४ पृष्ठको प्रगति विवरण सार्वजनिक गर्दै पाँच महिनाको अवधिमा यातायात क्षेत्रको सिन्डिकेट अन्त्य, सुन तस्करमाथि कारबाही र तस्करी नियन्त्रणमा प्रभावकारी कदम चालेको उल्लेख गरिएको छ । औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता, सार्वजनिक खरिद अनियमितता रोक्न एकीकृत सूचना प्रणाली र विकास निर्माणमा भएका ढिलासुस्ती अन्त्य गर्ने कदम चालिएको प्रगति विवरणमा उल्लेख छ । यसैगरी सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता, आधा घन्टामै कन्सुलर प्रमाणीकरण सुरु, राजदूत नियुक्तिमा मापदण्ड तर्जुमा, सुरक्षाकर्मी दुरुपयोगको अन्त्य, राजमार्ग र सडक सुरक्षा प्रवन्ध, अध्यागमन ब्यवस्थापनमा टोकन प्रणाली र पेट्रोलियम चुहावट रोक्न लकिङ प्रणाली जडानलाई प्रगतिका रुपमा देखाइएको छ ।
यस्तै प्रगति विवरणमा भनिएको छ,– हवाई सेवा र पर्यटन पूर्वाधारमा पर्यटन प्रवद्र्धनका लागि सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन सचिवालय स्थापना गरी काम अघि बढाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाईजहाजको अत्यधिक चापका कारण सृजित समस्या समाधान गर्न २०७५ जेठ ७ गतेदेखि विमानस्थललाई दैनिक २१ घन्टा सञ्चालनमा ल्याइएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको छ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ५२ प्रतिशत प्रगति हासिल भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको निर्माण कार्यले गति लिएको छ । नेपाल–जापान दुईपक्षीय हवाई सेवा सम्झौता पुनरवलोकन भएको छ । अब सातामा २ पटकको सट्टा १४ उडान हुनेछन् । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा अभिवृद्धि गर्न वर्षाैंपछि खरिद गरेको वाइडबडी विमान काठमाडौंमा अवतरण भएको छ । विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढीबाट नेपाललाई थप हवाई प्रवेश मार्ग उपलब्ध भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले विगतमा नेपाललाई असुरक्षित हवाई सूचीमा राखेकोमा हवाई सुरक्षास्तर वृद्धि भएपछि सो सूचीबाट नेपाललाई हटाएको छ ।
यस्तै लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, भन्सार प्रणालीमा सुधार, विकास खर्चमा उत्साहजनक वृद्धि, स्थानीय तहमा बैङ्किङ सेवा विस्तार, पुँजी बजारमा डिजिटल पेमेन्ट, सरकारी भुक्तानीमा सेन्ट्रल बिलिङ सिस्टम, नेपाल पुनर्बिमा कम्पनीको पुँजी वृद्धि, श्रमिकलाई बैङ्कबाट तलब, सिनेमा उद्योग पारदर्शी कर प्रणाली, तुइन प्रतिस्थापन गरी झोलुङ्गे पुल निर्माण, एकीकृत भन्सार जाँच चौकी निर्माण, पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण, ९ सय मेगावाटका ठूला परियोजना शिलान्यास, ११६ सम्पदा र साढे ३ हजार विद्यालय भवन पुनर्निर्माण, कृषि पेशालाई उद्योगमा रुपान्तरण, विदेशमा अलपत्र श्रमिकको उद्धार, मेलम्ची खानेपानी सपनाबाट यथार्थमा परिणत हुँदै गएको र फलाम खानी अन्वेषणसम्मलाई प्रधानमन्त्रीले मुख्य उपलब्धिको रुपमा राखेका छन् ।