पोल्यान्ड पठाउने भन्दै ठगी गर्ने दुई युक्रेनी नागरिक पक्राउ

टुरिष्ट भिसामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियाले कामदार भिसामा पोल्यान्ड पठाउने भन्दै ठगी गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

पोल्यान्ड पठाउने भन्दै नेपाली युवालाई ठगी गर्ने दुई युक्रेनी नागरिक पक्राउ परेका छन् । वैदेशिक रोजगार विभाग र अपराध अनुसन्धान महाशाखाले विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियालाई पक्राउ गरेको हो ।

टुरिष्ट भिसामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियाले कामदार भिसामा पोल्यान्ड पठाउने भन्दै ठगी गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

पुतलीसडकस्थित शङ्करदेव क्याम्पस अगाडि अफिस नै खोली उनीहरुले ठगी धन्दा चलाइरहेका थिए । उनीहरुको विषयमा श्रम मन्त्रालयमै सूचना आएपछि वैदेशिक रोजगार विभाग र अपराध अनुसन्धान महाशाखाले छापा मारेको थियो ।

पिपल फर वर्क नामको कम्पनी नै दर्ता गरी काम गरिरहेको पाइएको श्रम मन्त्रालयले जनाएको छ । उनीहरुले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा आफ्नो प्रचार गर्ने गरेका थिए । त्यसरी सम्पर्कमा आउने व्यक्तिलाई पोल्यान्डको कामदार भिसा उपलब्ध गराउने भन्दै सुरुमै दुई लाख रुपैयाँ माग्ने गरेका थिए । अन्तिम अन्तर्वार्ताका लागि भारत जानुपर्ने र समग्रमा ७ लाख रुपैयाँसम्म खर्च लाग्ने बताउने गरेको पीडितहरुले बताए ।

उनीहरुले कम्पनी रजिष्ट्रारमा दर्ता गर्दा सफ्टवेयर तथा सूचना प्रविधिमा काम गर्ने उद्देश्य राखेको भेटिएको छ । उनीहरुको पक्राउसँगै अफिसमा उपलब्ध सबै सामान प्रहरीले जफत गरी थप अनुसन्धान सुरु गरेकोे छ ।