सङ्घर्षमय जीवन

‘बाटोमा परैबाट मलाई देखे भने मोडिएर हिँड्थे,’ उनको अनुहारमा त्यो दुःख अहिले पनि झल्किन्छ, ‘मलाई दुःख लाग्छ, तर पछुतो लाग्दैन । मैले कहिल्यै पनि नराम्रो गरिनँ ।’ केही समयपछि द्वारिकाका मामाले उनीहरुलाई स्वीकारे । अनि बिस्तारै समाजले उनीहरुलाई पनि मान्न थाल्यो । दसैँको केही दिनपछि द्वारिकाज होटलमा त्यतिबेलाको प्रसङ्ग उनले सम्झिइन्, ‘सासूससुरा हामीसँग नबोल्दा पनि हामी दसैंमा टीका लगाउनचाहिँ पुग्थ्यौँ, उहाँहरु नबोलीनबोली टीका लगाइदिनुहुन्थ्यो ।’

आजभन्दा ८० वर्षअगाडि । नेपालमा ‘स्कुल जाने संस्कृति’ विकास भएकै थिएन । त्यसमाथि छोरीलाई पढाउनुपर्छ भन्ने त सायदै कुनै नेपाली परिवारमा सोचिन्थ्यो ।
तर, अम्बिका श्रेष्ठको परिवारमा छोरीलाई पनि स्कुल पठाउनुपर्छ भनियो । उनको परिवारले सोच्यो– छोरीलाई स्कुल पठाउने मात्र होइन, राम्रो स्कुल पठाउनुपर्छ । फलस्वरुप, उनी पुगिन्, पढ्नका लागि भारततिर । भारतमा बेलायतको उपनिवेश थियो, अम्बिकाले ब्रिटिसहरुले आफ्ना छोराछोरी पढाउन खोलेको स्कुलमा प्रवेश पाइन् । उनी स्कुल पुगेपछि बल्ल थाहा भयो, त्यो स्कुलमा जम्मा दुईजना ‘नन–ब्रिटिस’ थिए । ‘हामी दुईजना मात्र स्कुलमा थियौँ, जो ब्रिटिस परिवारका थिएनन्,’ उनी अहिले विगतका ती स्कुले जीवनमा फर्किंदा नोस्टाल्जिक बन्छिन्, ‘त्यही स्कुलको वातावरणले मलाई अहिलेकी अम्बिका बनाएको हो ।’ किनकि, जुन स्कुलमा अम्बिकाले पढ्न पाइन्, त्यहाँको ‘डिसिप्लिन’, ‘थट’ र ‘एक्सपरियन्स’ बिल्कुलै फरक थियो ।
राम्रो स्कुलमा पढ्न पाएर ‘आफूभित्रकी अम्बिका’ पहिचान गर्न सकेकी उनलाई अहिले लाग्छ– त्यो ‘अपच्र्युनिटी’ नपाएको भए अहिले उनी यो ‘पोजिसन’मा हुने थिइनन् ।


यसको अर्थ के होइन भने, अम्बिकाले राम्रो स्कुलमा पढ्न पाउँदैमा जीवनमा कुनै अप्ठ्यारा मोडहरुको सामना गर्नुपरेन । उनले त्यस्ता ठूला भङ्गालाहरुको सामना गर्नुप¥यो, जसले उनलाई झन्झन् बलियो बनाउँदै अघि बढाउँदै लगे ।
जीवनमा सुखदुःख, भेल र बाढीको सामना गरेरै बलियो भएकाले हुनुपर्छ, अहिले ८५ वर्षको उमेरमा पनि अम्बिका अनवरत यात्रामा छिन्, अझै आफ्ना भिजनमाथि काम गरिरहेकी छन् ।
‘तर, अब व्यवसायमा चाहिँ मेरो धेरै संलग्नता छैन,’ आफ्नो व्यवसाय छोरी र नातिलाई हस्तान्तरण गरिसकेको बताउँदा अम्बिकाको अनुहारको चमक प्रस्ट देखिन्थ्यो, ‘म खुसी छु, मेरी छोरी र नातिले मेरो यो बिजनेसलाई अगाडि बढाएका छन् ।’
बत्तीसपुतलीस्थित द्वारिकाज होटलको बाहिरी लबीमा चर्को घाम छेक्न उभ्याइएको छातामुनि बसेर कुरा गर्दा अम्बिकाले कहिले विगत सम्झिइन्, त्यसमा हराइन् त कहिले वर्तमानको सुनौला दिन सम्झिएर अनुहारमार्फत विजयको भाव प्रकट गरिन् ।
अम्बिकाले आफूलाई गर्व गर्न अहिले यही एउटा द्वारिकाज होटल नै पर्याप्त छ । द्वारिकाज, जसले हस्पिट्यालिटी क्षेत्रमा एउटा विशेष पहिचान मात्र बनाएको छैन, नेपाली संस्कृतिलाई पनि संरक्षण गरिरहेको छ । होटलका सबै झ्याल तथा ढोका हेर्दा लाग्छ, हामी कुनै मल्लकालीन घरमा छौँ ।
‘यही नै हाम्रो सम्पत्ति हो,’ अम्बिका गर्वका साथ भन्छिन्, ‘हामीले संस्कृति जोगाइरहेका छौँ, हामीले यो स्कल्पचरलाई नै हाम्रो सम्पत्ति मानेका छौँ ।’


अब त अम्बिका कुँदिएका ढोका र झ्यालमा आफ्नो जीवनको ऐना देख्छिन्, जीवनलाई फर्किएर हेर्दा यी काठका झ्यालढोकामा आफ्ना पदचाप देख्छिन् । तर, कुनै बेला थियो, जब यिनै काठले उनको मनलाई दुखाएका थिए ।
‘हेर्नुस्, मैले यी काठ हाम्रा सम्पत्ति हुन् भनेर बैङ्कमा लोन लिन पुगेकी थिएँ,’ मुस्कुराउँदै उनले भनिन्, ‘त्यतिबेला बैङ्कले सोझै इन्कार गर्दै भनेको थियो, ‘कुहिएका काठ कसरी सम्पत्ति हुन्छन् ?’ अम्बिकाले मेहनत गर्न छाडिनन्, सङ्घर्षलाई आफ्नो छायाँ मानिन् र अगाडि बढिन् । त्यसको उदाहरण भएका छन्, यिनै झ्यालढोका जुन अहिले अमूल्य सम्पत्तिमा गनिएका छन् ।
‘अहिले पनि यी झ्यालढोका कुँद्न हामीले एकजना पुराना ‘आर्टिस्ट’लाई राखिरहेका छौँ,’ उनी भन्छिन्, ‘उहाँले यहाँबाट नै अरु दर्जनौँ त्यस्ता आर्टिस्ट उत्पादन गरिसक्नुभएको छ ।’
जसरी एउटा सिकर्मीले कुँदेर काठमा नयाँ आकृति दिन्छ, त्यसरी नै अम्बिकाले आफ्नो जीवनलाई कुँदेर अहिलेको आकार दिएकी हुन् । र, अम्बिकाले जीवनमा पहिलो ‘राँबो’ चालिन् सन् १९५० को दशकका अन्तिम वर्षहरुमा ।
‘मेरो यहाँको परिवारमा बिहे भयो,’ उनी भन्छिन्, ‘म बिहे भएर आएको परिवार पुरातनवादी थियो, निकै गाह्रो भयो ।’
विवाह भएपछि नै अम्बिकाको ‘सोल’ परिचय बदलियो, उनी भइन्– द्वारिकाकी अम्बिका ।
‘कन्जर्भेटिभ’ परिवारमा विवाह भएर पुगे पनि अम्बिकाको भित्री मन परिवर्तन हुन सकेन । उनलाई श्रीमान् द्वारिकाको सहयोग त छँदै थियो । ‘उहाँ बिल्कुल फरक हुनुहुन्थ्यो,’ अम्बिका सम्झन्छिन्, ‘देशका लागि केही गरौँ भन्ने उहाँको सोच थियो, त्यो समयमा पनि उहाँ नयाँ सोचका साथ अगाडि बढ्नुहुन्थ्यो ।’
तिनै द्वारिकाले एक दिन बिहान अम्बिकालाई भने– म त अब घरबाट बाहिर निस्कँदै छु, तिमी पनि मसँगै जाने भए हिँड, नत्र यहाँ नै बस, च्वाइस इज योर्स ।
‘घरमा उहाँलाई हीराजस्तो छोरा भनिन्थ्यो,’ उनी विगत सम्झन्छिन्, ‘अम्बिका आएर हाम्रो हीराजस्तो छोरालाई कीरा बनायो भन्लान् भन्ने डर एकातिर छँदै थियो, तर घरबाट बाहिरिने उहाँको एकल निर्णय थियो, त्यसमा मेरो कुनै दबाब थिएन ।’
यति भनिसकेपछि अम्बिकाले आँखा परेली माथि उचालिन्, उनको निधार थोरै खुम्चियो, उनलाई कुनै उत्सुकताले बाँधेजस्तो भयो । अनि एकै सासमा उनले थपिन्, ‘ओ माई गड, हामी निस्किएपछि द बिगेस्ट प्रब्लम ह्यापेन्ड इन द वल्र्ड ।’
अब अम्बिकालाई कुनै प्रश्न सोध्नुपरेन । उनी धाराप्रवाह बोल्न थालिन्– त्यो समयमा जोइन्ट फ्यामिलीबाट बाबुआमाको केही पनि नलिई बाहिर निस्कने सायद हामी नै पहिलो परिवार थियौँ, हुँदाछँदाको घर छोडेर हामी रेन्टमा बस्न थाल्यौँ ।


तैपनि अम्बिकामा आत्मविश्वास थियो– यो निर्णयले भविष्यमा उनीहरुलाई राम्रै हुन्छ, आफूले भनेको ठाउँमा उनीहरु पुग्न सक्छन् ।
परिवारले मात्र होइन, छिमेकी, नातेदार सबैले उनीहरुलाई ‘आउटकास्ट’ गरे । ‘सबैले,’ उनी त्यो दिन सम्झन्छिन्, ‘एकाबिहानै मेरो हजबेन्ड आउनुभयो र मलाई इफ यू वान्ट टू स्टे, स्टे भन्नुभयो । म एक वर्षकी छोरी काखमा बोकेर उहाँको पछिपछि लागेँ ।’
द्वारिका र अम्बिकाले द्वारिकाका साथी पूर्णशङ्कर गिरीको घरमा एउटा फ्ल्याट भाडामा लिए । त्यसपछि अम्बिकाको जीवनको गोरटोमा नयाँ मोड देखाप¥यो । उनले पनि जागिर सुरु गरिन्– पढाउन थालिन् ।घरमा एक वर्षकी छोरीलाई हुर्काउँदै सरकारी जागिरे श्रीमान्को रेखदेख गर्दै पढाउँदै गर्दा अम्बिकाका आफन्त उनलाई सक्दो इग्नोर गर्थे ।
‘बाटोमा परैबाट मलाई देखे भने मोडिएर हिँड्थे,’ उनको अनुहारमा त्यो दुःख अहिले पनि झल्किन्छ, ‘मलाई दुःख लाग्छ, तर पछुतो लाग्दैन । मैले कहिल्यै पनि नराम्रो गरिनँ ।’ केही समयपछि द्वारिकाका मामाले उनीहरुलाई स्वीकारे । अनि बिस्तारै समाजले उनीहरुलाई पनि मान्न थाल्यो । दसैँको केही दिनपछि द्वारिकाज होटलमा त्यतिबेलाको प्रसङ्ग उनले सम्झिइन्, ‘सासूससुरा हामीसँग नबोल्दा पनि हामी दसैंमा टीका लगाउनचाहिँ पुग्थ्यौँ, उहाँहरु नबोलीनबोली टीका लगाइदिनुहुन्थ्यो ।’
अम्बिकाका श्रीमान् द्वारिका सरकारी जागिरे भएकाले कहिले भैरहवामा हुन्थे त कहिले नेपालगन्ज । अम्बिका छोराछोरीलाई बोकेर भारतको बाटो हुँदै श्रीमान् भएका ठाउँमा कहिलेकाहीँ पुग्थिन् ।
फरक के थियो भने, त्यतिबेलासम्म अम्बिकाले अमेरिकन लाइब्रेरीमा जागिर पाइसकेकी थिइन्, उनीहरुको आर्थिक अवस्था पनि सुधँ्रदै थियो । तर, यहीबीच द्वारिकाले सरकारी जागिर छोडे ।
‘अब केही त गर्नुपर्छ भन्ने भयो,’ अम्बिका सम्झन्छिन्, ‘त्यसपछि हामीले ट्राभल कम्पनी खोल्यौँ ।’ द्वारिका र अम्बिकाले कम्पनीको नाम राखे– काठमाडौं ट्राभल एन्ड टुर्स ।
सम्भवतः काठमाडौंमा नै आधारित र नेपालको टुर प्याकेज बेच्नकै लागि मात्र खुलेको त्यो कम्पनी नै पहिलो नेपाली ट्राभल कम्पनी हो । त्यसअघि नेपाल आउने अधिकांश पर्यटकलाई भारतीय कम्पनीले टुर प्याकेज बेच्ने गर्थे । अर्को एउटा ट्राभल थर्ड आईले पनि नेपालमा काम गरिरहेको थियो ।
र, यही ट्राभल कम्पनीको सुरुवात नै अम्बिकाको जीवनको सबैभन्दा सुन्दर मोड सावित भयो । कम्पनीमा प्रशासनलाई द्वारिकाले सम्हाले, अम्बिकाले सेल्स हेर्न थालिन् ।
हो, त्यतिबेला पनि समस्याहरु नआएका होइनन् । तर, अम्बिकाले दुःखलाई लामो समय हाबी हुन दिइनन् । ‘किनकि दुःख त आउँछ, जान्छ, काम गर्नुपर्छ भन्ने मेरो सोच थियो,’ अम्बिकाले यही कुरालाई जीवनको मूल मन्त्र बनाइन्, ‘मैले निकै मेहनत गरेँ, जापान पुगेर, अमेरिका पुगेर नेपालको प्राकृतिक सौन्दर्यलाई विषय बनाएँ ।’
महिला भएकैले उनले जापान र युरोपेली देशमा होस् या अरु देशमा पुग्दा किन नहोस्, निकै धेरै समस्या भोग्नुप¥यो । तर, मेहनतका कारण दुःख र सङ्घर्षले हा¥यो । काठमाडौँ ट्राभल कम्पनीले त्यसपछि आफूलाई विस्तार गरेर टोकियो र दिल्लीमा पनि आफ्नो कार्यालय खोल्यो ।
‘त्यसपछि हामी झन् एग्रेसिभ भयौँ,’ अम्बिका भन्छिन्, ‘हाम्रा लागि मात्र होइन, हामीले नेपालकै लागि केही गरौँ भन्ने सपना बोकेका थियौँ, त्यही सपनालाई हामीले निरन्तर पछ्याइरह्यौँ ।’
अहिले पछाडि फर्केर हेर्दा अम्बिका आफू सफल हुनुको कारण एउटै कुरालाई श्रेय दिन्छिन्– काममा फुल एटेन्सन । ‘जब कोही अप्टिमिस्टिक माइन्डले फुल इफोर्ट काममा दिन्छ,’ अम्बिका भन्छिन्, ‘जसले पनि सफलताको शिखर चुम्छ ।’
यही ट्राभल कम्पनीका कारण अम्बिकाहरुले बाध्य भएर होटल व्यवसाय पनि सुरु गर्नुप¥यो । द्वारिकाज होटल सुरुवातीको कथामा अम्बिका लागिन्– संयोगवश यो होटलको सुरुवात भयो । उनले द्वारिकाज होटलका वरपरका बिल्डिङ हेरिन् र भनिन्, ‘मेरो श्रीमान् यी सब कुराहरु बचाउन चाहनुहुन्थ्यो, हामीसँग यी काठ थिए र यी सबै काठ बचाउन पैसा चाहिन्थ्यो ।’
काठे कलाको अम्बिकालाई कति माया छ भने अहिले पनि सानो केही बिग्रियो भने मर्मतसम्भार हुन थालिहाल्छ ।
एक हिसाबले द्वारिकाज द्वारिकाको काष्ठकला बचाउने सपना थियो भने अर्कोतिर ट्राभल कम्पनीको व्यवसायले सिर्जना गरिदिएको ‘कम्पल्सन’ थियो । त्यो बाध्यताले सुरु भएको द्वारिकाज अहिले काठमाडौंँ सहरका लागि एउटा आवश्यकता भइसकेको छ ।
‘एकपटक हाम्रा गेस्टहरु एक साता बस्नुपर्ने बाध्यता भयो, फ्लाइटका कारणले,’ अम्बिका अहिलेको कुरा गर्दागर्दै फेरि विगतमा फर्किइन्, ‘सुरुमा त हामीले उनीहरुलाई हाम्रै घरमा राख्यौँ, तर त्यही घर उनीहरुले मन पराएपछि त्यसले होटलको स्वरुप लिँदै गयो ।’
आफू बसिरहेको घरले होटलको स्वरुप लिएपछि जीवनमा दोस्रोपटक अम्बिकाहरु फेरि ‘रेन्टेड’ घरमा बस्न गए । अनि त्यही घर विस्तारित हुँदै अहिलेको द्वारिकाज होटलमा परिणत भयो । सुरुवातमा यो होटलको नाम थियो– द्वारिकाज हिमालयन भिलेज होटल ।
‘एउटा गाउँजस्तै नै थियो नि,’ अम्बिका भन्छिन्, ‘अहिले पनि हामीले त्यो संरचानमा परिवर्तन गरेका छैनौँ । तर, नामबाट भिलेज झिकेका छौँ ।’


व्यापार व्यवसाय अगाडि बढिरहँदा अम्बिकाको जीवनमा वज्रपात प¥यो– अचानक द्वारिकाको निधन भयो ।
‘त्यसपछि म अगाडि बढ्दै थिएँ,’ उनी दुःखी हुन्छिन्, ‘केही वर्षमा नै छोरीले मलाई साथ दिइन्, उनले पनि निकै मेहनत गरिन् ।’ अब त उनलाई साथ दिन युरोपमा अध्ययन गरेर फर्किएका छन् उनका नाति । अम्बिकाकै नातीले अहिले द्वारिकाजको सपना पूरा गर्न मेहनत गरिरहेका छन् ।
‘ऊ पनि मेहनती छ, युरोपमा राम्रा अवसर हुँदाहुँदै उसले यहाँ कर्मचारी भएरै काम गर्छु भनेको छ,’ अम्बिका भन्छिन्, ‘अब त म पूरै सामाजिक कार्यमा व्यस्त छु ।’
त्यसो त अम्बिकाले सामाजिक कार्य गर्न थालेको आजबाट होइन । धेरै पहिले जेसिस इन्टरनेसनलमा भाइस चेयरमेनका लागि अम्बिका उम्मेदवार नै बनेकी थिइन् । ‘तर, महिला भएकैले मलाई भोट दिइएन, जापानले पनि महिला होस् भोट दिन्न भन्यो,’ उनी भन्छिन्, ‘त्यहाँ नजिते पनि महिलाको उत्थानका लागि म लागिरहेकी छु ।’ अम्बिका त्यतिबेलादेखि नै अन्य सङ्घसंस्थामा आबद्ध थिइन्, उनलाई लाग्छ– ५० प्रतिशत महिलाको उत्थान भएमा मात्र देश बन्न सक्ने अवस्था हुन्छ ।
ठीक यो कुरा गरिरहँदा अम्बिकाको फोन तेस्रोपटक बज्यो । पछिल्लोपटक आएको फोनमा उनले भनिन्– सरी, आज म मिटिङमा आउन सक्दिनँ, तपाईंहरु निणर्य गर्नू र मलाई भन्नू । उनले नभने पनि प्रस्टै बुझिन्थ्यो– यो फोन समाजसेवामा काम गरिरहेको एउटा संस्थाको थियो ।
हामी कुरा गर्न थालेको ठ्याक्कै एक घन्टासम्म अम्बिकालाई कुरिरहेकी थिइन्, उनकी छोरी । उनीहरु दुईजना कतै अर्को मिटिङमा जानुपर्ने थियो । यो उमेरमा यस्तो व्यस्त दैनिकी देखेर अनायसै मैले भनेँ– टू बिजी लाइफ, म्याम ।
उनी मुसुक्क हाँसिन् र मसँगै द्वारिकाज पुगेकी फोटोग्राफर बहिनी निशा भण्डारीलाई अम्बिकाले गेस गर्न लगाइन्– भन त म कति वर्षकी भएँ होला ?
अप्ठ्यारो मान्दै निशाले भनिन्– अराउन्ड सेभेन्टी म्याम ।
‘थ्याङ्क यू,’ अम्बिका हाँसिन्, ‘मलाई योङ बनाइदिएकोमा ।’
सन् १९६० को दशकका सुरुवाती वर्षमा ट्राभल कम्पनी खोल्दाकै जोस र जाँगर भएकी अम्बिकाको शैली र व्यवस्तता देख्दा निशाले मात्र होइन, कसैले पनि अनुमान गर्दैन– अम्बिका ८५ वर्षकी भइसकिन् !