यूएईले आममाफीको समय सकिएपछि कार्यस्थल र होस्टलमै गएर कामदारको अवस्था निरीक्षण गर्ने भएको छ । त्यसबेला अवैधानिक रुपमा रहेको भेटिएका व्यक्ति जेल पनि पर्न सक्छन् । किनकि यूएईले आममाफीको समयपछि पनि अवैधानिक कामदार भेटिएमा पक्राउ गरेर जेल हाल्ने भएको छ ।
युनाइटेड अरब इमिरेट्स (यूएई)ले बाहिरी देशबाट घुमन्ते (भिजिट) र पर्यटक (टुरिस्ट) भिसामा कडाइ गर्ने भएको छ । भिजिट भिसामा आएर आफ्नो देशको नियम उल्लङ्घन गरेको भन्दै उसले यस्तो कडाइ गर्ने भएको हो ।
यूएईमा चलिरहेको आममाफीमा ठूलै अपराध गरेका कतिपय व्यक्ति पनि सहभागी हुन आएको र त्यस्ता व्यक्ति भिजिट वा टुरिस्ट भिसामा यूएई प्रवेश गरेको पाइएको छ । त्यस्ता व्यक्तिलाई आफ्नो देशमा प्रवेश गर्न नदिन यूएईले भिजिट र टुरिस्ट भिसामा कडाई गर्न लागेको हो ।
साउन १६ गतेदेखि कात्तिक १४ गतेसम्म यूएईले दिएको आममाफीको समयमा अवैधानिक रुपमा रहेका विदेशी नागरिकले वैधानिक बन्न वा स्वदेश फर्किन पाउने व्यवस्थासमेत गरेको छ । आममाफीको समय झन्डै एक महिना बित्न लागेको छ । यो समयमा आममाफीमा सहभागी हुन आउनेमा ओभरस्टे भएका र काम खोज्न चाहने धेरैजसो भिजिट र टुरिस्ट भिसामै यूएई प्रवेश गरेको पाइएको यूएईले जनाएको छ ।
भिसा अवधिभन्दा धेरै समय बसेका कतिपय कामदारसँग स्वदेश फर्किन पैसा नभएको अवस्थामा समेत सम्बन्धित देशको दूतावाससँग हवाइ टिकटका लागि छलफल गरिने भएको छ ।
यूएईले आममाफीको समय सकिएपछि कार्यस्थल र होस्टलमै गएर कामदारको अवस्था निरीक्षण गर्ने भएको छ । त्यसबेला अवैधानिक रुपमा रहेको भेटिएका व्यक्ति जेल पनि पर्न सक्छन् । किनकि यूएईले आममाफीको समयपछि पनि अवैधानिक कामदार भेटिएमा पक्राउ गरेर जेल हाल्ने भएको छ ।
युएर्इले कागजपत्र नभएका कामदारलाई काम लगाएमा रोजरदाताले पनि जरिवाना तिर्नुपर्ने नियम ल्याउने भएको छ ।
कागजपत्र नभएका एक एकदार बराबर ५० हजार दिर्हाम जरिवाना रोजगारदाताले तिर्न पर्नेछ । एक पटक कारबाहीमा परेका रोजगारदाताले फेरि पनि कागजपत्र नभएका कामदारलाई काममा लगाएमा दुईगुणा बढी अर्थात एक लाख दिर्हाम जरिवाना तिर्नुपर्ने छ । जरिवानाको डरले रोजगारदाताले काममा नलगाउन सक्छन् ।
आममाफी सुनौलो अवसर
यूएईले विभिन्न कारणले अवैधानिक बन्न पुगेका वा कानून उल्लङघन गरेका कामदारलाई प्रत्येक पाँच वर्षमा आममाफीको अवसर दिँदै आएको जनाएको छ ।
धेरै कामदारले फाइदा लिन सकुन भन्ने उदेश्यले आबुधाबीमा थप केन्द्र पनि खुलाइएको छ । नयाँ खुलेको केन्द्रबाट चार सयदेखि पाँच सय जनाले सेवा लिन सक्नेछन् ।
यो केन्द्रमा भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स र श्रीलंकाको दूतावासका प्रतिनिधि पनि हुने भएकाले यी देशका कामदारले आवश्यक सहयोग पनि पाउन सक्नेछन् ।
आममाफीको समयको सक्दो सदुपयोग गर्न नेपाली दूतावास यूएईले पनि आग्रह गरेको छ । यो समयमा अवैधानिक हैसियतलाई वैधानिक बनाउने तथा स्वदेश फर्किने विकल्प रोज्न सकिन्छ । यससम्बन्धी समाचार गोल्फ न्युज गभर्नमेन्टमा समेत प्रकाशित छ ।