एसएमएसबाट अलैँचीको मूल्य

मूल्य थाहा पाउन मोबाइलको म्यासेज बक्समा गई आईएफए एसीएच बीटीएम लेखेर ३४००१ मा एसएमएस गर्न सकिन्छ ।

तपाइँ अलैँची बेच्न चाहनुहुन्छ ? मूल्य थाहा छैन ? चिन्ता नलिनुस्, अब अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो ।

बजारमा राम्रो मूल्यमा बिक्री भइरहेको थाहा नपाउँदा व्यापारी र बिचौलियाबाट ठगिएको गुनासो गर्ने गरेका किसानले अलैँचीको बजार मूल्य एसएमएसबाट नै थाहा पाउने भएका हुन् । तर यो व्यवस्था धेरै किसानलाई जानकारी नै छैन । मूल्य थाहा पाउन मोबाइलको म्यासेज बक्समा गई आईएफए एसीएच बीटीएम लेखेर ३४००१ मा एसएमएस गर्न सकिन्छ । अलैँचीको मुख्य कारोबार हुने झापाको बिर्तामोडमा प्रचलित बजार मूल्यका बारेमा थाहा पाइने र आईएफए एसीएच लेखेर ३४००१ पठाएमा इलाममा रहेको प्रचलित मूल्य थाहा पाउने प्रावधान रहेको अलैँची विकास केन्द्रका वरिष्ठ प्राविधिक अञ्जनीकुमार न्यौपानेले बताए ।

किसानले थाहा पाउन बजारै गएर बुझ्नुपर्ने झन्झटबाट मुक्त भइने र बेला बखतमा आफूहरु निक्कै ठगिएको महसुस हुने गरे पनि यस समस्याको केही हदसम्म समाधान भएको रोङ गाउँपालिका– ६ रम्भ्याङका किसान श्याम आचार्यको भन्छन् । अलैँची व्यवसायी महासङ्घले गरेको मूल्य जानकारीको प्रावधान किसानको हितमा नै रहेको किसानहरुको भनाइ छ । बजारमा पनि अलैँचीको मूल्य व्यापारीले आफूखुशी तोक्ने गरेकाले किसानलाई मर्का परेको गुनासो छ ।