मलेसियाको रोजगार अनिश्चित, ९ हजार कलिङ भिसाको म्याद सकिँदै

सङ्घले भने एमओयूमा बायोमेट्रिक, भीएलएन, जीएसजी, वान स्टप सेन्टर, माइग्राम्सलाई नै राखेर रोजगारदाता कम्पनीले तिर्ने गरी बुँदा राखिएको सुन्न आएको भन्दै त्यो मान्य नहुने बताएको छ ।

नेपाली कामदारका लागि मलेसियाको रोजगारी अझै अन्योल हुँदा ९ हजार कामदारको कलिङ भिसाको म्याद सकिने भएको छ । मलेसिया जाने प्रक्रिया बन्द हुँदा कलिङ भिसा लगाएका ९ हजार कामदारको भिसा २ सातामा सकिन लागेको वैदेशिक रोजगार व्यवसायी सङ्घले जनाएको छ ।

सङ्घका महासचिव नरेश गेलालले शुक्रबारसम्म ९ हजार कामदारको कलिङ भिसा लागेको तथ्याङ्क सङ्कलन भएको बताए । हामीले मन्त्रालयमा बुझाउन तथ्याङ्क सङ्कलन गरिरहेका छौं, शुक्रबारसम्म ९ हजार कामदारको कलिङ भिसाको तथ्याङ्क आएको छ,’ उनले भने । ९ हजार कामदार दुई साताभित्र उड्न पाएनन् भने उनीहरुको म्याद सकिने उनले बताए ।

कामदार मलेसिया उड्न पाएनन् भने पहिला नै खर्च गरेको रकमसमेत गुम्ने सङ्घले जनाएको छ । ९ हजार कामदारको मेडिकल, जीएसजी, यातायात तथा होटलमा गरेर २३ करोड खर्च भएकाले कामदार उड्नबाट वञ्चित हुँदा सबै रकम गुम्ने उसको भनाइ छ ।

सङ्घले सङ्कलन गरेको कलिङ भिसाको सूची आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बुझाइने महासचिव गेलालले बताए । ‘कलिङ भिसा लागेको कामदार म्यादभित्र मलेसिया नपुगे ५ वर्ष कालोसूचीमा पर्ने भएकाले पनि सरकार गम्भीर हुनुपर्छ,’ उनले भने ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अहिले कलिङ भिसाका विषयमा कुनै निर्णय नभएकाले कहिले उड्ने भन्ने पनि निश्चित नभएको जनाएको छ । मन्त्रालयका सचिव महेश दाहालले मन्त्रालयमा अहिले कलिङ भिसाको विषयमा कुनै छलफल नभएको बताए । ‘हामीले मलेसियाले पठाएको एमओयूको मस्यौदामा संशोधन गरेर जवाफ पठाएका छौं । र त्यसैको फाइनल कुरेर बसेका छौं,’ उनले भने ।

सङ्घले भने एमओयूमा बायोमेट्रिक, भीएलएन, जीएसजी, वान स्टप सेन्टर, माइग्राम्सलाई नै राखेर रोजगारदाता कम्पनीले तिर्ने गरी बुँदा राखिएको सुन्न आएको भन्दै त्यो मान्य नहुने बताएको छ ।

सङ्घका अध्यक्ष रोहन गुरुङले कामदारलाई परेको आर्थिक भार रोजगारदाता कम्नपीले बेहोर्ने गरी एमओयूमा सहमति हुन लागेकाले त्यो मान्य नहुने बताए । ‘सरकारले ती पुरानै संस्था ब्युँताउने गरी सहमती गर्ने हो भने किन ४ महिना मलेसिया बन्द गरेको ?,’ उनले भने, ‘तिनै संस्था रहे सङ्घले पुनः आन्दोलन गर्छ ।’