रोल्पामा गाउँपालिकोको नाम र केन्द्र परिवर्तनमा चर्को विरोध

ऐतिहासिक तथा पौराणिक नाम परिवर्तन गर्दै गाउँपालिकाका उपाध्यक्ष वागमती थापाका मृतक श्रीमान् किमबहादुर थापा सुनिलको नामबाट गाउँपालिकाको नाम राखेको भन्दै विपक्षीले विरोध गरेको बताइएको छ ।

गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णयसँगै रोल्पाका तीन स्थानीय तहमा विवाद चर्किएको छ । रोल्पाको सुवर्णावती र सुकिदह गाउँपालिकाको नाम परिवर्तन तथा त्रिवेणी गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने विषयसँगै विरोध चर्किएको हो ।
सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन गरी सहिद सुनिल स्मृति गाउँपालिका नामकरण गर्ने भन्दै गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले प्रस्ताव पेश गरेपछि सोही गाउँपालिकाका विभिन्न चारवटा वडाका वडाध्यक्षले निर्णय पुस्तिकामै असहमतिको बुँदा लेखेपछि विवाद चुलिएको हो ।

गाउँ कार्यपालिकाको बैठकमा गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले साविक नाम परिवर्तन गर्दै नयाँ नाम राख्ने प्रस्ताव गरेपछि सुवर्णवती गाउँपालिका–४ का वडाध्यक्ष गञ्जबहादुर क्षेत्री, वडा नं ३ का वडाध्यक्ष जेदबहादुर विष्ट, वडा नं २ का वडाध्यक्ष नेत्रबहादुर गिरी र वडा नं १ का वडाध्यक्ष केशवलाल कुँवरले निर्णय पुस्तिकामा असहमति लेख्दै विज्ञप्तिसमेत प्रकाशित गरेका छन् ।

ऐतिहासिक र पौराणिक नाम रहेको सुवर्णाती परिवर्तन गरी व्यक्ति विशेषको नाममा सिङ्गो गाउँपालिकाको नाम राख्ने प्रयास भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यता गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले भने सुवर्णावती गाउँपालिका पौराणिक, साहित्यिक नाम भएकाले जनताले उच्चारण गर्न गाह्रो मान्नुको साथै नामकरणसमेत अर्थपूर्ण नरहेकाले नाम परिर्वतन गर्नुपरेको बताए । गाउँपालिकाभित्रका चर्चित नेता सुनिलको नाम निकै चर्चित रहेकाले जनताले सहजै उच्चारण गर्न सक्ने र परिवर्तनमा समेत महतत्त्वपूर्ण भूमिका खेलेका शहीदको नाममा गाउँपालिकाको नाम परिर्वतन गर्ने प्रस्ताव आएको बताउनुभयो ।

अहिले प्रस्तावका रुपमा मात्रै आएको छ पुस १२ गते बृहत् छलफल गरी टुङ्गो लाग्ने घर्तीले बताए । गाउँपालिकाको पहिलो सभामा नाम परिवर्तन गर्ने विषयमा सहमति भइसकेको उनको दाबी छ ।

ऐतिहासिक तथा पौराणिक नाम परिवर्तन गर्दै गाउँपालिकाका उपाध्यक्ष वागमती थापाका मृतक श्रीमान् किमबहादुर थापा सुनिलको नामबाट गाउँपालिकाको नाम राखेको भन्दै विपक्षीले विरोध गरेको बताइएको छ ।

उता करिब एक साताअघि पश्चिम रोल्पाको सुकिदह गाउँपालिकाले समेत नाम र केन्द्र परिवर्तनको निर्णय गरेपछि विवाद सिर्जना भएको थियो । मङ्सिर २९ गते बसेको गाउँपालिका बैठकले माओवादी जनयुद्धमा मारिएका गङ्गा वली र देवराज वलीको नामबाट ‘गङ्गादेव’ गाउँपालिका राख्ने गरी निर्णय भएको बताइएको छ ।

गाउँपालिकाको नाम परिवर्तनप्रति नेपाली काङ्ग्रस, नेकपा एमालेलगायतका दलले असहमति जनाउँदै आएका छन् । एमालेका स्थानीय नेता रोशनकुमार वलीको संयोजकत्वमा सङ्घर्ष समिति समेत तयार गरी दबाबमूलक कामको थालनी गरिएको स्थानीयले जानकारी दिए ।