डाक्टरहरू सडकमा, अस्पतालको सेवा ठप्प

बिरामीको उपचार गर्दा लापरवाही गर्ने चिकित्सकलाई जेल हाल्ने मुलुकी अपराध संहिताको प्रावधानविरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । तर, उपचारमा संलग्न डाक्टरले भुल गरेको हो वा होइन भन्ने विषयमा अध्ययन गर्न लागि छुट्टै समिति गठनको चिकित्सकहरुले माग गरेका छन् ।

देशभरका चिकित्सक अस्पतालका आकस्मिकबाहेकका सेवा रोकेर आन्दोलनमा उत्रिएका छन् । सडकबाटै आन्दोलन गर्ने गरी उनीहरु आइतबार सडकमा उत्रिएका हुन् । नयाँ मुलुकी अपराध संहितामा गरिएको व्यवस्था खारेजीको माग गर्दै उनीहरु सडकमा आएका हुन् ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा २३०, २३१, २३२ र २४० लाई संशोधन गर्न माग गर्दै चिकित्सकहरुले नेपाल चिकित्सक संघको अगुवाइमा आइतबार राजधानी काठमाडौंसहित देशभर प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरबाट सुरु भएको चिकित्सकहरुको जुलुस नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

बिरामीको उपचार गर्दा लापरवाही गर्ने चिकित्सकलाई जेल हाल्ने मुलुकी अपराध संहिताको प्रावधानविरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । तर, उपचारमा संलग्न डाक्टरले भुल गरेको हो वा होइन भन्ने विषयमा अध्ययन गर्न लागि छुट्टै समिति गठनको चिकित्सकहरुले माग गरेका छन् ।

प्रदर्शनमा डा. गोविन्द केसी, डा. हरिहर वस्ती, डा. केदारनरसिंह केसी, मुक्तिराम श्रेष्ठलगायतले प्रदर्शनमा सहभागिता जनाएका छन् । उनीहरुले चिकित्सकको मनोबल गिराउने खालको व्यवस्था सच्याउन आग्रह गरे । सरकारले निजी मेडिकल संस्था बन्द गराउने मनसायले नयाँ मुलुकी ऐनमा कडा व्यवस्था गरेको सुनील शर्मा लगायतका वक्ताहरुले बताए । कार्यक्रममा बोल्दै नागरिक अभियन्ता डा. गोविन्द केसीले नयाँ मुलुकी संहितालाई कालो कानुनको संज्ञा दिए ।