विराटनगर बम बिस्फोटमा सहभागी ३ जना पक्राउ

पक्राउ पर्नेमा जहदा गाउँपालिका–२ का ५३ वर्षीय मनोजकुमार सिंह, सिराहा लक्ष्मीपुरपतारी गाउँपालिका–३ नयाँ टोलका २० वर्षीय अभिमन्यु गिरी र सुखिपुर नगरपालिका ५ का २४ वर्षीय रामरिझन यादव छन् ।

विराटनगर महानगरपालिकामा बम बिस्फोट गराएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका–२ का ५३ वर्षीय मनोजकुमार सिंह, सिराहा लक्ष्मीपुरपतारी गाउँपालिका–३ नयाँ टोलका २० वर्षीय अभिमन्यु गिरी र सुखिपुर नगरपालिका ५ का २४ वर्षीय रामरिझन यादव छन् । सिंहलाई शुक्रबार मोरङबाट र गिरी र यादवलाई शनिबार सिराहाबाट पक्राउ गरिएको भएपनि जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सार्वजनिक गरेको हो ।

मोरङ प्रहरी प्रमुख उपरीक्षक मनोजकुमार केसीले यादव सिराहाको लहानस्थित विकास ट्रेडर्समा भएको बम बिस्फोटमा पनि संलग्न भएको बताए । घटनाको २१ दिनपछि प्रहरीले ३ जना आरोपीलाई सार्वजनिक गरेको हो ।

केसीका अनुसार घटनामा ५ जनाको संलग्नता छ । पक्राउ परेका तीनै जना भारतको दरभंगामा जेठ महिनामा नै योजना बनाएर बम बिस्फोट गराएको केसीले बताए । उनीहरु जयकृष्ण गोइतले नेतृत्व गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) मा आबद्ध रहेको पनि प्रहरीको भनाइ छ ।

मोर्चाअध्यक्ष जयकृष्ण गोइतले घटना भएपछि तत्काल सञ्चारकर्मीहरुलाई फोन र इमेलमार्फत् विज्ञप्ति पठाएर घटनाको जिम्मेवारी लिएका थिए ।

बस पार्कमा सिराहाको बस चढेर आएका रामरिझनलाई राहुलले र गिरीलाई मनोजले मोटरसाइकलमा चढाएर महानगरपालिकासम्म पु¥याएको सीसी टीभी फुटेजबाट खुलेको केसीले बताए । साउन २७ गते दिउँसो २ बजे विराटनगर महानगर प्रमुख भीम पराजुलीको कार्यकक्ष बाहिरपट्टीको प्यासेजमा बम बिस्फोट गराइएको थियो ।