एयरलाइन्स कम्पनीहरुको आम्दानी बढ्नुको मुख्य कारण बेसिक इकोनोमी क्लासको भाडादर बढ्दो लोकप्रिय हुनु हो ।
गत जुलाईदेखि सेप्टेम्बरसम्म अमेरिकी एयरलाइन्स कम्पनीहरुले यात्रुका सामान ओसारेबापत झन्डै १ अर्ब २० करोड डलर कमाएका छन् । यो रकम गतवर्षको सोही अवधिको भन्दा करिब १० प्रतिशतले बढी हो । उनीहरुले सामानको शुल्कबापत अप्रिल र जुन महिनामा १ अर्ब १८ करोड डलर आम्दानी गरेका थिए । अमेरिकी यातायात विभागले सोमबार जारी गरेको तथ्याङ्कमा यस्तो देखाइएको हो र ।
एयरलाइन्स कम्पनीहरुको आम्दानी बढ्नुको मुख्य कारण बेसिक इकोनोमी क्लासको भाडादर बढ्दो लोकप्रिय हुनु रहेको पूर्वएयरलाइन म्यानेजर तथा ट्राभल ब्लग क्र्याङ्किफ्लायर डटकमका एडिटर ब्रेट स्नाइडरले जानकारी दिए ।
स्नाइडर भन्छन्, ‘जुन यात्रुहरुले सामान्य इकोनोमी क्लासका टिकट लिएका हुन्छन्, उनीहरुले विमानभित्र आफ्नो सिटमाथिको क्यबिनमा आफूसँगै लगेका ह्यान्डक्यारीका सामान राख्न पाउँदैनन् । त्यसकारण उनीहरुको त्यो सामान आफू बसेको सिटमुनि अटाएन भने यात्रुलाई त्यो सामान छुट्टै लगेज चेकिङका लागि भनिन्छ । अनि चेकिङ गर्दा लगेजको फिस सुनेर यात्रु चकित पर्छ ।
अमेरिकन एयरलाइन्स र युनाइटेड एयरलाइन्स दुवै विमान कम्पनीले गत वर्ष साधारण इकोनोमी वर्गमा नयाँ टिकट बिक्रीवितरणमा ल्याएको थियो । सामान्य टिकटको तुलनामा यी टिकट निकै सस्ता छन् । तर यस्ता टिकट लिएका यात्रुहरुलाई विमान कम्पनीले अत्यन्त थोरै सामान लैजाने अनुमति दिन्छन् ।
अमेरिकी यातायात विभागको तथ्याङ्कले विमानबाट यस वर्षको जनवरी–अगस्टका बीचमा यात्रा गर्ने यात्रुहरुको सङ्ख्या पछिल्लो वर्षको सोही अवधिको तुलनामा ३ प्रतिशतले बढेको देखाएको छ । जोय सेन्ट मी नामक ब्लगका सञ्चालक तथा लेखक जोय ब्रान्सटेल्ली भन्छन्, “यात्राका लागि यो उपयुक्त वर्ष हो, त्यसैले धेरैभन्दा धेरै व्यक्तिहरुले आआप्mना लगेज चेकिङ गर्दै छन् ।
गत जनवरीमा, ओबामा प्रशासनले एक विनियम जारी गरी सामानमा लाग्ने शुल्कमा धेरै पारदर्शिता मागेको थियो । त्यजसमा एयरलाइन्स कम्पनीहरुले यात्रुहरुलाई टिकट किन्ने बेलामा नै लगेज र ह्यान्ड क्यारी सामानको फिसबारे जानकारी दिनुपर्ने प्रावधान थियो । ‘न्यून नागरिक हित’ भन्दै गत साता यातायात विभागले प्रस्तावित विनियम फिर्ता लिने घोषणा गर्यो ।
एजेन्सीको सहयोगमा