वैदेशिक सहायताको अपेक्षित सोधभर्ना प्राप्त भएन

वैदेशिक सहायतामा निर्भर आयोजनाले गति लिन नसक्दा अपेक्षित शोधभर्ना लिन नसकिएको सहसचिव अर्याल बताउँछन् ।

वैदेशिक सहायतामा निर्भर सिँचाइ, जलविद्युत्, सडकपूर्वाधार आयोजनाले गति लिन नसक्दा अपेक्षित शोधभर्ना लिन सकिएको छैन । अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख तथा सहसचिव वैकुण्ठ अर्यालका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा रु १८ अर्ब सोधभर्ना भएको छ ।

सरकारले चालू आवको बजेटमा रु ७२ अर्ब १६ करोड ७६ लाख २८ हजार वैदेशिक अनुदान र रु दुई खर्ब १४ अर्ब तीन करोड ५४ लाख २९ हजार वैदेशिक ऋण जुटाउने उल्लेख छ । वैदेशिक सहायतामा निर्भर आयोजनाले गति लिन नसक्दा अपेक्षित शोधभर्ना लिन नसकिएको सहसचिव अर्याल बताउँछन् ।

मंसिरसम्ममा रु ९९ अर्ब ३७ करोड वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको छ भने त्यसमध्ये रु ९४ अर्ब १८ करोड २० लाख सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले अन्तर्राष्ट्रिय आर्थिक सहायता राष्ट्रिय आवश्यकता र प्राथमिकतामा परिचालन गर्ने बताएको थियो । सङ्घीयता अनुकूल हुने गरी विकास सहायता पहिचान गर्ने विधि तय गरी कार्यान्वयन गरिने बजेटमा उल्लेख छ ।