विदेशी फूलको माला लगाउने प्रवृत्ति अन्त्य गरौँ — मन्त्री लामा

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को २६ औ वार्षिक साधारणसभामा बोल्दै उनले नेपाल फूलको व्यावसायिक उत्पादन र बजार रहेकाले त्यसको प्रवर्द्धन गरी आयातलाई निरुत्साहित गर्नुपर्ने बताएका हुन् । उनले राष्ट्रिय एकता कायम गर्न उत्पादनमुखी क्षेत्रमा जोड दिनुपर्ने बताए ।

प्रदेश ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अरुको देशबाट फूल ल्याएर माला लगाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को २६ औ वार्षिक साधारणसभामा बोल्दै उनले नेपाल फूलको व्यावसायिक उत्पादन र बजार रहेकाले त्यसको प्रवर्द्धन गरी आयातलाई निरुत्साहित गर्नुपर्ने बताएका हुन् । उनले राष्ट्रिय एकता कायम गर्न उत्पादनमुखी क्षेत्रमा जोड दिनुपर्ने बताए । नेपालको अधिकांश जग्गा बाँझो हुँदै गएको चर्चा गर्दै मन्त्री लामाले विदेसिने प्रवृत्ति न्यूनीकरण गर्न व्यावसायिक र रोजगारमूलक उत्पादनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव विजयकुमार झाले पुष्प व्यवसायको व्यावसायिक उत्पादन र बजारीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, राष्ट्रिय फलफूल विकास केन्द्रकी प्रमुख रमिता मानन्धर, फ्लोरिकल्चर एसोसिएसनका निवर्तमान अध्यक्ष लोकनाथ गैरेलगायतले मन्तव्य राखेका थिए ।

नेपालमा वि.सं २०११ सालदेखि व्यावसायिक पुष्प व्यवसायको थालनी भएको थियो । अहिले मुलुकभर ७ सयभन्दा बढी पुष्प व्यवसाय, नर्सरी, बगैँचा छन् । पुष्प व्यवसाय नेपालको ४१ जिल्लामा विस्तार भइसकेको छ । ४२ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाइरहेको फ्यानले जनाएको छ । वार्षिक २ अर्ब रुपैयाँभन्दा बढीको पुष्प व्यवसायको कारोबार हुने गरेको छ ।