जापान पठाइदिन्छु भनी ठूलो रकम ठगी गर्ने मुख्य नाइके पक्राउ

आफूलाई विमान सेक्युरिटी एन्ड सर्भिसका अध्यक्ष र सञ्चालक भन्दै २८ जनाबाट प्रतिव्यक्ति ७ लाखदेखि १२ लाख रुपैयाँसम्मका दरले एक करोड, ३१ लाख ५० हजार रूपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् ।

जापानमा सरकारी कोटामा कृषिसम्बन्धी काममा पठाइदिन्छु भनी ठगी गर्ने मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई विमान सेक्युरिटी एन्ड सर्भिसका अध्यक्ष र सञ्चालक भन्दै २८ जनाबाट प्रतिव्यक्ति ७ लाखदेखि १२ लाख रुपैयाँसम्मका दरले एक करोड, ३१ लाख ५० हजार रूपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् ।

प्रहरीले सिन्धुपाल्चोक मेलम्चीघर भएका ३३ वर्षीय सबिनप्रकाश दनुवारलाई आइतबार बसुन्धराबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

यसअघि पीडितहरूको जाहेरीका आधारमा ठगी मुद्दामा संलग्न भएको आरोपमा नुवाकोट दुप्चेश्वर घर भई हाल जोरपाटी बस्ने ३३ वर्षीया सरिता गुरूङ र उदयपुरका २३ वर्षीय लालमणि दनुवारलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले बताएको छ ।

उनीहरुलाई अदालतबाट १० लाख धरौटी माग भएकोमा सरिता गुरूङले तिर्न नसकी जेल चलान भएको र लालमणि दनुवार धरौटी तिरेर तारेखमा छुटेको बताइएको छ ।