वैदेशिक रोजगारीको जानकारी अब तपाईंकै हातमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाएको वैदेशिक रोजगार एपमार्फत् आगामी असोज १५ गतेदेखि सबै सूचनाहरु मोबाइलमै हेर्न पाइने भएको हो ।

वैदेशिक रोजगारीका सम्पूर्ण जानकारीहरु अब मोबाइलबाटै पाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाएको वैदेशिक रोजगार एपमार्फत् आगामी असोज १५ गतेदेखि सबै सूचनाहरु मोबाइलमै हेर्न पाइने भएको हो ।

वैदेशिक रोजगार क्षेत्रमा देखिएको विकृति र विसङ्गतिलाई हटाउन श्रम मन्त्रालयले यो एप तयार पारेको हो । कुनै पनि कामदार वैदेशिक रोजगारमा जाँदा नठिगिउन् भन्ने उद्देश्यले यो एप तयार पारिएको श्रममन्त्री गोकर्ण विष्टको भनाइ छ । उनले सरल, सुलभ, पारदशी र थप व्यवस्थित बनाउन वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एकीकृत) लागू गरिएको बताए ।

यसका साथै वैदेशिक रोजगारीसँग सम्बन्धित सूचना तथा सेवामा नागरिकको सहज पहुँचका लागि मोबाइल एप्लिकेसनसमेत निर्माण गरी सञ्चालनमा ल्याइएको बताइएको छ । यो प्रणालीमा अध्यागमन विभाग¸ पासपोर्ट विभाग¸ कन्सुलर सेवा विभाग¸ कुटनीतिक नियोगहरु¸ वैदेशिक रोजगार विभाग¸ वैदेशिक रोजगार व्यवसायी¸ अभिमुखीकरण तालिम प्रदायक संस्था¸ स्वास्थ्य परीक्षण गर्ने संस्था¸ बैङ्क¸ बिमा कम्पनी¸ सीप तथा तालिम प्रदायक संस्था तथा गन्तव्य देशका रोजगारदातासम्बन्धी सूचना र सेवासम्बन्धी विवरणहरु उपलब्ध हुनेछन् ।

सूचना र सेवालाई प्रविधिमैत्री ढङ्गले सहज¸ सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिहरुसमक्ष पुर्याई वैदेशिक रोजगारलाई सुरक्षित¸ व्यवस्थित र मर्यादित बनाउन एकीकृत सूचना प्रणालीको सुरुवात गरिएको हो । यसले वैदेशिक रोजगारीको क्षेत्रमा पुर्याउने सेवा प्रवाह छरितो, मितव्ययी, पारदर्शी तथा पहुँचयोग्य हुनुका साथै गलत सूचनाको आधारमा हुनसक्ने ठगीलाई समेत नियन्त्रण गर्न सहयोग पु¥याउने मन्त्रालयले विश्वास लिएको छ । यस प्रणालीको प्रयोगले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुनेहरु लगायतका अद्यावधिक तथ्याङ्क उपलब्ध हुनेछ । यस प्रणालीका कारण अनुगमन प्रणाली प्रभावकारी भई सेवा प्रवाहको कार्यदक्षता बढ्नेछ । साथै यसबाट प्राप्त अनुभवबाट आगामी दिनमा यस क्षेत्रको नीति तथा कार्यक्रमको तर्जुमा गर्न समेत सहयोग पुग्नेछ ।

यसका साथै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीका सूचना एवम् सेवा मोबाइल एपबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । हाललाई एन्ड्रोइड प्रणालीमा आधारित यस मोबाइल एपका माध्यमद्वारा श्रम स्वीकृति नवीकरणको फारम पनि भर्न सकिने व्यवस्था गरिएको छ । यस सूचना प्रणालीलाई २०७५ असोज १ गतेदेखि सम्बद्ध निकायबाट पूर्ण रुपमा लागू गरिनेछ ।

मन्त्रालयका कम्प्युटर इन्जिनियर राजेश श्रेष्ठले एपमार्फत् आफ्नो राहदानी नम्बर लगिन गरेपछि सम्पूर्ण जानकारीहरु एकै साथ पाउन सकिने बताए । उनले एपमार्फत् श्रम स्वीकृतिको जानकारी र त्यसको प्रगति, पूर्व स्वीकृतिको विवरण र वैदेशिक रोजगारीमा परेको उजुरीको विषयमा जानकारी दिनेदेखि म्यानपावर कम्पनीको नवीकरणसमेत गर्न सकिने बताए ।

यसैबीच वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली पूर्ण रुपमा लागू गर्न आफूहरु तयार रहेको बताए । यो प्रणाली बनाउन आफूहरु पहिलेदेखि नै लागिपरेको भएपनि विभिन्न बाधाअवरोध आएका कारण सफल नभएको भन्दै मन्त्री विष्टलाई धन्यवाद दिएका छन् ।