साउदी अरब जाने कामदारको तलब न्यूनतम हजारदेखि ११ सय रियालसम्म

अब साउदीमा काम गर्ने नेपाली कामदारले न्यूनतम ज्याला हजार रियाल र खाना भत्ता तीन सय रियालदेखि अधिकतम ज्याला एक हजार एक सय रियाल र खानाभत्ता पाँच सय रियाल पाउनेछन् ।

साउदी अरबमा काम गर्ने कामदारहरुको तलब वृद्धि गर्न नेपाल सरकारले पहल गरेकाे छ । अब साउदीमा काम गर्ने नेपाली कामदारले न्यूनतम ज्याला हजार रियाल र खाना भत्ता तीन सय रियालदेखि अधिकतम ज्याला एक हजार एक सय रियाल र खानाभत्ता पाँच सय रियाल पाउनेछन् ।

नेपाल सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित हुनेछन् । यसअघि आठ सय न्यूनतम ज्याला र खाना भत्ता दुई सय रियाल रहेकोमा नयाँ व्यवस्थाअनुसार नेपाली अदक्ष कामदारले न्यूनतम ज्याला एक हजार र खाना भत्ता तीन सय रियाल पाउनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो ।

साथै साउदी जाने कामदारको औषधोपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ । राजपत्रमा प्रकाशित भएको मितिदेखि बढेको तलबमा मात्रै साउदीका लागि मागपत्र प्रमाणीकरण हुनेछ । साउदी जाने कामदारहरुका लागि ६ वर्षपछि न्यूनतम ज्यालामा पुनरवलोकन भएको हो ।

नेपाल सरकारले बढाएको तलब साउदी सरकारले कार्यान्वयन गर्ने सम्भावना भने न्यून रहेको वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहण गुरुङको भनाइ छ । नेपालले साउदी अरबलाई कामदारको तलब बढाउन सुझाव दिन सक्छ तर आफैले बढाउन नसक्ने अध्यक्ष गुरुङले बताए ।