सम्झौता नवीकरण गर्न कुलमान दिल्लीमा

ढल्केबर–मुजप्mफरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता नवीकरण गर्न उच्चस्तरीय टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

विद्युत् खरिद सम्झौता नवीकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उच्चस्तरीय टोली आज दिल्ली प्रस्थान गरेको छ । यही पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्न कार्यकारी निर्देशकसहितको टोली भारत प्रस्थान गरेको हो ।

ढल्केबर–मुजप्mफरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता नवीकरण गर्न उच्चस्तरीय टोली त्यसतर्फ प्रस्थान गरेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभीभीएन) लिमिटेडका अधिकारीसँग घिसिङ नेतृत्वको टोलीले छलफल र सम्झौता नवीकरण गर्ने कार्यसूची छ ।

एनभिभीएनबाट बिजुली आयातलाई निरन्तरता दिने विषयमा स्पष्ट जवाफ नआएको र सम्झौताको म्याद सकिन लागेपछि थप छलफल आवश्यक देखिएको प्राधिकरणले जनाएको छ । ढल्केबर–मुजप्mफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट पाँच रुपैयाँ ७६ पैसामा आयात भइरहेको छ ।

भारतबाट विद्युत् उपलब्ध हुन नसकेमा विद्युत्भार कटौती हुने आशङ्का बढेको भन्दै प्राधिकरणले दिल्ली बैठकलाई महत्वपूर्ण बैठकका रुपमा लिएको छ । भारतबाट नेपालले यस हिउँदका लागि करिब ३७० मेगावाट विद्युत् खरिद गर्ने योजना बनाएको छ । विद्युत् प्रवाहमा सहजता ल्याउनका लागिसमेत थप विद्युत् आवश्यक रहेको बताइएको छ ।