कञ्चनपुरको भीमदत्तनगरस्थित क्याम्पस रोडमा रहेको नयाँ नेपाल चाउमिन सेन्टरका सञ्चालक हेमराज जोशी २०६२/०६३ को जनआन्दोलनका घाइते छन् ।
मुलुकमा आएको परिर्वतनसँगै चिया पसलको नाउँ नै ‘नयाँ नेपाल’ राखेर व्यापार गर्दै दैनिकी चलाउँदै आएका जोशीले संविधान जारी भएपछि संविधान कार्यान्वयन चरणका महत्वपूर्ण कार्यभार सम्पन्न भएपछि देखिएको खुशीसँगै केही निराशासमेत व्यक्त गरेका छन् ।
स्थानीय तहको निर्वाचनदेखि सङ्घीय र प्रदेशसभाको सफल निर्वाचन भई मुलुक सङ्घीय संरचनामा जानु धेरै ठूलो उपलब्धि हो । जनआन्दोलनका घाइते जोशी भन्छन्, “स्थानीय तहमा देखिएको केही मनमानीले मन खिन्न भएर आउँछ ।” उनले संविधानको दरिलो कार्यान्वयन र असहमत पक्षलाई पनि संविधानमा अटाउनका लागि राजनीतिक दलबीचको एकता हुनुपर्नेमा जोड दिन्छन् ।
“जनआन्दोलनमा तत्कालीन सात दलको एकता अब संविधानको कार्यान्वयन र मुलुकको समृद्धिका लागि देखिन आवश्यक छ ।” जोशीले भने, “अब विकासका लागि राजनीति आवश्यक छ ।” मधेशमा संविधान स्वीकार्य विषयमा देखिएको केही विमति पनि राजनीतिक वृत्तबाटै समाधान खोज्नुपर्नेमा उनको जोड छ ।
त्यसैगरी कञ्चनपुरको महाकाली नगरपालिका–१ चाँदनीका बलबहादुर सुनारले संविधान कार्यान्वयनसँगै गाउँमा विकास हुनुपर्नेमा जोड दिन्छन् । “अब संविधान कार्यान्वयनमा कुनै विमति रहेन ।” खेती किसानी गर्दै आएका सुनारले भने, “विकासका माध्यमबाट गाउँको मुहार फेरिएको हेर्ने रहर छ ।” रासस