मलेसियाबाट शव आउन केही दिन लाग्ने

मलेसियास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले अनुसन्धानका लागि प्रहरीले केही दिन शव राख्ने भएकाले नेपाल पठाउन ढिला हुने बताए ।

मलेसियामा विषाक्त मदिरा पिएर ज्यान गुमाएका ६ जना नेपालीको शव नेपाल आउन केही दिन लाग्ने भएको छ । मलेसियास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले अनुसन्धानका लागि प्रहरीले केही दिन शव राख्ने भएकाले नेपाल पठाउन ढिला हुने बताए । त्यहाँको सरकारले अनुसन्धान सिध्याएलगत्तै रोजगारदाता कम्पनीहरुको सहकार्यमा तत्काल नेपाल पठाउने तयारीमा रहेको कार्यवाहक राजदूत खरेललको भनाइ छ ।

उनले अहिले पनि केही शवहरु मलेसियन प्रहरीसँगै रहेको र पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए । विषाक्त मदिराको स्रोत तथा यसमा जिम्मेवारहरुको सम्बन्धमा मलेसियन प्रहरी तथा अधिकारीहरुले अनुसन्धान अगाडि बढाएका छन् ।

मङगलबार विषाक्त मदिरा पिएका कारण ६ नेपालीको ज्यान गएको थियो भने १६ जना बिरामी परेका छन् । ज्यान गुमाउनेमा बसेरी ३ धादिङका मिमबहादुर घले, मसिना ६ रुपन्देहीका रामकुमार यादव, अमरगढी ५ डडेल्धुराका बिशाल बुढाथोकी, पश्चिम कुसाहा ९ सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का ९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले छन् ।

यस्तै अस्पतालमा उपचाररत जितबहादुर माझी रानीचुरी ५ सिन्धुली, राधेश्याम बैठा रघुनाथपुर ६ बारा, रामचन्द्र लोध फरेना ७ रुपन्देही, लोकबहादुर बराम च्याङ्गली २ गोरखा, रिखामान स्याङतान दुंग्रेखोला ८ सर्लाही, सरु मगर ठेगाना खुल्न बाँकी, दुर्गासिंह राना देउराली ८ नवलपरासी, सुकुवल घिसिङ ठेगाना खुल्न बाँकी, राजेशकुमार ठेगाना खुल्न बाँकी, बिमल कार्की ठेगाना खुल्न बाँकी, सेतबीर तुम्बाप्पो चोकामागु ६ पाँचथर र जम्बिरलाल झाँगड बाबियाबिर्ता ३ मोरग छन् । यस्तै लुंगनाथ मगर सिद्धकाली ४ सङ्खुवासभा, दुर्गाबहादुर राई महेन्द्रनगर ६ सुनसरी, प्रविन थारु मैनापोखर ३ बर्दिया तथा भागीमान डाँगी राङ्गसी ४ रोल्पा घर भएकाहरु भने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

बिरामीहरुको कजांग र सुंगाईबुलो अस्पतालमा उपचार भइरहेको छ । दूतावासले बुधवार विज्ञप्ति जारी गरी मलेसियामा रहेका नेपाली कामदारहरुलाई आफ्नो स्वास्थ्य तथा सुरक्षामा विशेष ध्यान पु¥याउन अनुरोध गरेको छ ।