तेस्रो लुम्बिनी फुटसल लिग सुरु

शुक्रबार कलेज परिसरमा आयोजित कार्यक्रममा नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा गुरुङले लिगको उद्घाटन गरेका हुन् ।

काठमाडौंकाे चाबहिल चुच्चेपाटीस्थित लुम्बिनी कलेजले आयोजना गरेको ‘तेस्रो लुम्बिनी फुटसल लिग २०७५’ सुरु भएको छ । शुक्रबार कलेज परिसरमा आयोजित कार्यक्रममा नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा गुरुङले लिगको उद्घाटन गरेका हुन् ।

शुक्रबार नै लुम्बिनी एकेडेमीले सञ्चालनमा ल्याएको ‘लुम्बिनी फुटबल एकेडेमी’को पनि उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले प्लस टू तहका विद्यार्थीलाई फुटबलप्रति मोह जगाउन एन्फाले पनि पहलकदमी गर्ने बताए । ‘यसरी प्रत्येक कलेजले विद्यार्थीहरूलाई ज्ञानसँगै खेलकुदलाई पनि अघि बढाउनु साह्रै राम्रो विषय हो’, उनले भने, ‘एन्फा पनि कलेज तहका विद्यार्थीलाई खेलकुदप्रति बढी आकर्षित गर्ने योजनासाथ अघि बढ्छ ।’

लिगअन्तर्गत शुक्रबार कलेजका आठ समूहले प्रतिस्पर्धामा सहभागिता जनाएका छन् । कार्यक्रममा कलेजमा प्रिन्सिपल एवं प्रबन्ध निर्देशक रविनचन्द्र कोइरालाले विद्यार्थीको विषयगत ज्ञानसँगै शारीरिक तन्दुरुस्तीलाई पनि कलेजले ध्यान दिएको बताए । सोही विषयलाई दृष्टिगत गरी कलेजले आफ्नै कलेज परिसरमा फुटसल निर्माण गरेको उनको भनाइ छ । ‘हामी चाहन्छौं, यहाँबाट उत्पादित विद्यार्थी सबै किसिमले सफल बनून्’, उनले भने, ‘त्यसका लागि नै फुटसल निर्माण गरेर त्यसको सुरुवात गरेका हौं ।’

लुम्बिनी फुटबल एकेडेमीको निर्देशकमा राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ छन् । उनकै नेतृत्वमा फुटबल एकेडेमी सञ्चालन हुनेछ । कलेजमा जारी फुटसल लिगको पनि उनले नेतृत्व गरेका छन् ।