राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता

भेटवार्तामा राष्ट्रियसभाको अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा छलफल भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।

भेटवार्तामा राष्ट्रियसभाको अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा छलफल भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनबाट प्राप्त ताजा जनादेश बमोजिम चाँडो नयाँ सरकार गठन भई मुलुकको समृद्धितर्फ लाग्ने कार्यमा सफलता मिलोस् भनी राष्ट्रपति भण्डारीले अध्यक्ष दाहाललाई शुभकामना दिइन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार जनताको भावना बमोजिम सरकार गठनपछि मुलुकको आर्थिक, सामाजिक रुपान्तरण र समृद्धिले गति लिने अपेक्षासमेत राष्ट्रपति भण्डारीले व्यक्त गरेकी थिइन् । राष्ट्रियसभाको निर्वाचन कुन पद्धतिमा गर्ने भन्ने विषयमा प्रमुख दलहरुबीच विवाद हुँदा त्यससम्बन्धी अध्यादेश जारी भएको छैन । नयाँ सरकार कहिले बन्ने भन्ने पनि अझै टुङ्गो लागेको छैन ।