तेस्रो चरणको सहयोग कार्यक्रमअन्तर्गत जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले करिब एक अर्ब रूपैयाँबराबरको भौतिक एवम् चिकित्सकीय उपकरण अस्पताललार्इ प्रदान गरेको हो ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको अग्रणी संस्था त्रिविवि शिक्षण अस्पताललाई जापान सरकारले चिकित्सकीय उपकरण सहयोग उपलब्ध गराएको छ ।
तेस्रो चरणको सहयोग कार्यक्रमअन्तर्गत जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले करिब एक अर्ब रूपैयाँबराबरको भौतिक एवम् चिकित्सकीय उपकरण अस्पताललार्इ प्रदान गरेको हो । यहाँ आज आयोजित कार्यक्रममा प्रदान गरिएका ती सामग्रीमा डिजिटल मनोग्राफ, सीएम एक्सरे मसिन, भेन्टिलेटर, प्याटिएन्ट मनिटर, एनेथेसिया मसिन, भिडियो अर्थस्कोपी सेटलगायत छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नेपालका लागि जापानका राजदूत मासामिसी साइगो र जाइकाका नेपाल प्रतिनिधि जुन साकुमाले ती सामग्री हस्तान्तरण गरे । जाइकाले त्रिविवि शिक्षण अस्पतालको भौतिक पूर्वाधार एवम् उपकरणका लागि सन् १९८३ मा सर्वप्रथम र सन् १९९२ मा दोस्रो पटक सहयोग प्रदान गरेको थियो । करिब सात सय शय्याको सो अस्पतालमा चिकित्सा विधाका सबै तहका अध्ययन एवम् अध्यापन हुने गर्दछ ।
शिक्षण अस्पतालमा सबै भौतिक संरचना जापानी नमुनामा बनेका छन् । सन् २०१५ को विनाशकारी भूकम्पले अस्पतालको भौतिक संरचनालाई क्षति पुर्याएको थिएन ।
कार्यक्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा र स्वास्थ्य सेवा सुधारमा जापान सरकारको सहयोग महत्त्वपूर्ण रहेको बताए । जापानी राजदूत साइगोले नेपालको आर्थिक एवम् सामाजिक विकासमा आगामी दिनमा जापान सरकारले निरन्तर सहयोग जारी राख्ने बताए । त्रिविविका उपकुलपति प्रा डा तीर्थराज खनिया, चिकित्सा अध्ययन सस्थानका डिन प्रा डा जगदीश अग्रवाल, अस्पतालका पूर्व कार्यकारी निर्देशक प्रा डा दीपकप्रकाश महराले शिक्षण अस्पतालको विकासमा जापान सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद दिए । रासस