श्रम समझदारीलाई अन्तिम रुप दिन नेपाली टोली आज मलेसिया जाँदै

नेपालबाट वार्ताका लागि जाने टोलीमा परराष्ट्र मन्त्रालयका दक्षिणपूर्व एसिया महाशाखा हेर्ने सहसचिव तापस अधिकारी र कानुन मन्त्रालयका सहसचिव कवीन्द्र गौतम छन् । आगामी शुक्रबार नेपाल र मलेसियाका प्रतिनिधिको बैठक बसेर समझदारीको ड्राफ्ट टुुङ्ग्याउने तयारी भएको हो ।

मलेसियामा श्रम समझदारीलाई अन्तिम रुप दिन नेपाली टोली आज मलेसिया जाँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीको संयोजकत्वमा सहसचिवहरुको तीन सदस्यीय टोली मलेसिया जान लागेको हो ।

नेपालबाट वार्ताका लागि जाने टोलीमा परराष्ट्र मन्त्रालयका दक्षिणपूर्व एसिया महाशाखा हेर्ने सहसचिव तापस अधिकारी र कानुन मन्त्रालयका सहसचिव कवीन्द्र गौतम छन् । आगामी शुक्रबार नेपाल र मलेसियाका प्रतिनिधिको बैठक बसेर समझदारीको ड्राफ्ट टुुङ्ग्याउने तयारी भएको हो ।

मलेसियाले समझदारीका लागि पठाएको मस्यौदामाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अध्ययन गरी संशोधनसहित भदौ १० गते मलेसिया सरकारलाई पठाएको थियो । मन्त्रालयले ४ महिनाअघि कामदारलाई आर्थिक भार पारी ठगी गरेको भन्दै विभिन्न पाँच संस्थालाई खारेज गर्दै कारवाहीको दायरमा ल्याएपछि नेपाली कामदार मलेसिया जान रोकिएका थिए ।

नेपालले कामदार पठाउन बन्द गरेपछि मलेसियाले एमओयू गरी नयाँ व्यवस्थाअनुसार कामदार लिने भन्दै नेपाललाई गतसाता एमओयूको मस्यौदा पठाएको थियो । नेपालले त्यही मस्यौदामा विभिन्न संशोधन प्रस्ताव राखेर मलेसिया सरकारलाई पठाएको हो ।

मलेसिया जाने नेपाली कामदारमाथि विभिन्न संस्था खडा गरी आर्थिक भार पारेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ४ महिनाअघि बायोमेट्रिक, भीएलएन, माइग्राम्स, वान स्टप सेन्टर र जीएसजीलाई खारेजीको घोषणा गर्दै कारवाही गरेका थिए ।