दसैं आयो, नयाँ नोट साट्न जाने होइन !

राष्ट्र बैङ्कले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि केन्द्रीय बैङ्कका अतिरिक्त तीन सरकारी बैङ्क र निजी क्षेत्रका अन्य बैङ्क तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्ने सुविधा दिने बुधबार जारी सूचनामा उल्लेख गरेको छ ।

हिन्दुहरुको महान पर्व बडादसैं तपाईं हाम्रो घरआँगनमै आइपुगेको छ । नेपाल राष्ट्र बैङ्कले दसैंका लागि असोज २१ गतेदेखि २९ गतेसम्म नयाँ नोट वितरण गर्ने जानकारी दिएको छ । राष्ट्र बैङ्कले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि केन्द्रीय बैङ्कका अतिरिक्त तीन सरकारी बैङ्क र निजी क्षेत्रका अन्य बैङ्क तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्ने सुविधा दिने बुधबार जारी सूचनामा उल्लेख गरेको छ ।

केन्द्रीय बैङ्क र सरकारी बैङ्कहरुबाट सटही गर्दा केही बढी रकम पाउनेछन् । केन्द्रीय बैङ्कले निजी क्षेत्रका बैङ्कलाई निश्चित रकम सटहीको सुविधा दिने भएकाले पनि ती बैङ्कबाट कति पैसा सर्वसाधारणले पाउने भन्ने एकिन हुँदैन । यस्ता संस्थाले आफ्ना कर्मचारी र सीमित ग्राहकलाई मात्रै विगतमा सेवा दिँदै आएको पाइन्छ । राष्ट्र बैङ्क र सरकारी बैङ्कहरुले भने प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न सक्छन् । सर्वसाधारणले ५, १०, २० र ५० रुपैयाँका दुई÷दुई प्याकेट (बन्डल) र १०० रुपैयाँको एक प्याकेट गरी २७ हजार रुपैयाँ लिन सक्नेछन् ।

राष्ट्र बैङ्कले थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, उपत्यका बाहिरका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित आफ्ना कार्यालयबाट नयाँ नोट दिनेछ । त्यसैगरी राष्ट्र बैङ्कको नोट कोष रहेको वाणिज्य बैङ्कका शाखाहरुबाट पनि नयाँ नोट दिने व्यवस्था मिलाएको छ । राष्ट्र बैङ्कले उपत्यकामा नेपाल बैङ्कका न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखा, राष्ट्रिय वाणिज्य बैङ्कका सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशालबजार, नक्साल, कलङ्की र बालाजु शाखा, कृषि विकास बैङ्कका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वम्भू र मङगलबजारबाट नयाँ नोट सटही गर्न पाइने व्यवस्था मिलाएको छ ।

राष्ट्र बैङ्कले संवैधानिक निकाय, नेपाल सरकारका कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संस्थानका लागि नयाँ नोट वितरण भने छुट्टै समूहगत रुपमै सम्बन्धित काउन्टरबाट व्यवस्था गर्दै आएको छ ।

राष्ट्र बैङ्क नयाँ नोट वितरणको सूचनासँगै नोट हिफाजत गर्न पनि सर्वसाधारणलाई अपिल गरेको छ । ‘नोट राष्ट्रको सम्पत्ति हो, यसको हिफाजत गरौं’ भन्दै केन्द्रीय बैङ्कले नोटमा केरमेट गरे, च्याते, जलाए, जथाभावी लेखे मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार कारवाही हुने पनि उल्लेख गरेको छ ।