चिया खेतीका लागि रु ७५ लाख

गाउँपालिकाको निःशर्त र सशर्त गरी कूल रु २६ करोड ६३ लाख रकममध्ये रु ७५ लाख चिया खेतीका लागि विनियोजन ।

भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा चिया खेतीका लागि रु ७५ लाख विनियोजन गरिएको छ । चिया किसानलाई आर्थिक र प्राविधिक रुपमा सहयोग गर्न सो रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए ।

चिया खेतीका लागि प्रशस्त सम्भावना बोकेको भोजपुरमा अझैसम्म व्यावसायिक रुपमा चिया खेती विस्तार नभइसकेको स्थानीयवासी दीपक राईले जानकारी दिए । गाउँपालिकाको निःशर्त र सशर्त गरी कूल रु २६ करोड ६३ लाख रकममध्ये रु ७५ लाख चिया खेतीका लागि विनियोजन भएको उनले बताए ।

स्थानीय सरकार निर्माण भएपछि पहिलो पटक सम्पन्न गाउँपरिषद्ले चिया खेती विस्तारका लागि विनियोजन गरेको सो रकम सोही गाउँपालिकाको मातहतमा रहनेछ । यसअघि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भोजपुरको आमचोक गाउँपालिकाको नमूना माटो परीक्षण गर्दा चिया खेतीका लागि उपयुक्त मानेको छ ।