दसैंलाई लक्ष्य गरेर विशेष सुरक्षा योजना

महानगरीय प्रहरी परिसरले आइतबार पत्रकार सम्मेलन गरेर दसैं, तिहार र छठपर्वमा शान्ति सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना निर्माण गरेको बताएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले चाडबाडलाई लक्ष्य गरेर विशेष सुरक्षा योजना बनाएको छ ।

परिसरले आइतबार पत्रकार सम्मेलन गरेर दसैं, तिहार र छठपर्वमा शान्ति सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना निर्माण गरेको बताएको छ । सम्मेलनमा परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले चाडवाडलाई लक्ष्य गरेर काठमाडौँको सुरक्षा व्यवस्थालाई कडा बनाएको बताए । “काठमाडौँभित्र हुने हत्या, अपहरण, ठगी, चोरी, महिला हिंसालगायत घटनालाई घट्न नदिन तीन हजारभन्दा बढी प्रहरीलाई परिचालन गर्न लागेका छौँ”, उनले भने ।

उनले व्यक्ति तथा सम्पत्तिको सुरक्षा, आर्थिक कारोबार, बैङ्क तथा वित्तीय संस्थामा हुने चोरी लुटपाट, टिकटमा हुने ठगी बढ्न सक्ने हुनाले पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती मोटर गस्ती सञ्चालन गर्न लागेको जानकारी दिए ।

परिसर प्रमुख लामाले बैङ्क तथा वित्तीय क्षेत्र, यातायात सञ्चालन हुने क्षेत्र, व्यापारिक कारोबार हुने क्षेत्र, होटल रेष्टुराँ, नाकालगायतका क्षेत्रमा विशेष गस्ती खटाइएको बताए ।

कलङ्की, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोङ्गबु, गौशाला, चाबहिल, कोटेश्वर र हल्चोक टिकट काउन्टरमा समेत प्रहरी खटाउन लागिएको परिसरले जनाएको छ । रासस