घुम्दै छ नेपाल

पछिल्ला वर्षमा नेपालमा घुमफिरको कल्चर बढ्दो छ । ५ वर्षयता घुमफिरमा रमाउने नेपालीको सङ्ख्या बर्सेनि १५ प्रतिशतले बढिरहेको पर्यटन व्यवसायीको अनुमान छ ।

चाहे जुम्ला होस् या जर्मनी, मनाङ होस् या मलेसिया । देशभित्र र बाहिर घुम्न निस्कने नेपालीको सङ्ख्या बढ्दै गएको छ । आफ्नै व्यवसायमा रमाइरहेका व्यवसायी तथा उद्यमी मात्र होइन, निजी र सरकारी सेवामा कार्यरत कर्मचारी पनि नयाँनयाँ गन्तव्य पुगिरहेका छन् ।

बढ्दो आम्दानी र लामो अनिवार्य छुट्टी (फोर्स लिभ)को सुविधा भएपछि कर्मचारीहरु वर्ष दिनमा कुनै न कुनै आन्तरिक वा बाह्य गन्तव्यमा निस्कने क्रम बढिरहेको छ । व्यवसायीहरु भने वर्ष दिनमै पटकपटक ‘रिफ्रेस’ हुनका लागि यात्रामा निस्कने गरेका छन् । यति मात्र होइन, विभिन्न कम्पनीका आधिकारिक बिक्रेताहरुको भेला तथा उनीहरुलाई प्रोत्साहनका लागि विदेशमै लगेर कार्यक्रम पनि हुन थालेपछि पछिल्लोपटक घुम्न जाने नेपालीको सङ्ख्या बाक्लिँदै गएको हो ।

घुम्न निस्कने नेपालीको सङ्ख्या बढ्न थालेपछि देशभित्र र देशबाहिरको टुरका लागि पर्यटन व्यवसायीहरुले आकर्षक प्याकेज घोषणा गरिरहेका छन् । इनबाउन्ड र आउटबाउन्ड टुरका लागि नयाँनयाँ कम्पनी थपिन थालेपछि प्याकेज सस्तोसमेत हुन थालेको छ । यही प्रतिस्पर्धालाई नेपाली पर्यटकले लाभ लिएका छन् ।

विदेश घुम्नु भनेको रमाइलो मात्र होइन, त्यहाँको रहनसहन, विकास, संस्कृतिको पनि अध्ययन हो, एउटै भ्रमणमा अध्ययन र रिफ्रेस हुने भएकै कारण घुमघाममा नेपाली पर्यटकको चासो पछिल्लोपटक बढ्दै गएको सिलिङ्क्स होलिडेजका प्रबन्ध निर्देशक राजु ढकाल बताउँछन् । ‘निजी र सरकारी कार्यालयले घुमघाममा प्रोत्साहन गर्नु र सस्तो प्याकेज भएकै कारण नयाँनयाँ मुलुक घुम्ने पर्यटक बढिरहेका छन्,’ उनले भने ।

विभिन्न समयलाई लक्ष्य गरेर पर्यटन व्यवसायीहरुले विभिन्न मुलुक र देशभित्रका विभिन्न ठाउँको टुर प्याकेज सार्वजनिक गरेका छन् ।
सरकारले नेपालबाट विदेश घुम्न चाहने नेपालीहरुको तथ्याङ्क नराखे पनि पछिल्लो ५ वर्षको अवधिमा निरन्तर घुम्न चाहने नेपालीहरुको सङ्ख्या १५ प्रतिशतले बढ्दै गएको पर्यटन व्यवसायीहरुको अनुमान छ । विदेश घुम्न जाने बढेपछि आउटबाउन्ड सेवा दिने कम्पनी पनि बढिरहेका छन् । अहिले आउटबाउन्ड टुरका लागि ६० भन्दा बढी ट्राभल कम्पनी सक्रिय रहेको व्यवसायीहरुको भनाइ छ ।

नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो)का अध्यक्ष सोम खड्काले नेपालबाट वार्षिक ६० हजारभन्दा बढी नेपाली विदेश घुम्नकै लागि निस्कने बताए । ‘विभिन्न मुलुकमा सीधा उडान तथा सस्तो प्याकेजले घुम्न जाने नेपालीको सङ्ख्या बढ्दै गएको हो,’ उनले भने । परिवारसँग भेटघाट, सभासम्मेलन, सेमिनार तथा अन्य कार्यक्रमका लागि जाने नेपालीसमेत जोड्ने हो भने दुई लाखभन्दा बढी नेपाली विदेशमा घुमिरहेका हुन्छन् ।
सरकारीस्तरबाट पर्यटक भएर घुम्न निस्कने पर्यटकको तथ्याङ्क अद्यावधिक गरिएको छैन । तीन वर्षअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २०१२ मा ३९ हजार, २०१३ मा ३२ हजार, र सन् २०१४ मा ३७ हजार नेपाली विदेश घुम्न गएको उल्लेख छ ।

विभिन्न वाणिज्य बैङ्कबाट भ्रमण खर्चमा साटिएको डलरको तथ्याङ्क राखेको नेपाल राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्षमा करिब ५८ अर्ब डलर साटिएको छ । आर्थिक वर्ष २०७२÷२०७३ मा ५६ अर्ब ४१ करोड रकम डलरका लागि साटिएको थियो । जब कि २०७१÷२०७२ मा ४१ अर्ब रकम डलरका लागि साटिएको राष्ट्र बैङ्कले जनाएको छ ।

नेपालबाट मलेसिया, सिङ्गापुर, थाइल्यान्ड, इन्डोनेसियामा बढी नेपाली घुम्न निस्कने गरेको व्यवसायीहरुको भनाइ छ । यी मुलुकमा १ लाख ४० हजार रुपैयाँमा एकसाताको भ्रमणको प्याकेज व्यवसायीहरुले ल्याएका छन् । मलेसियाबाट नेपालमा सीधा उडान गर्ने बजेट एयरलायन्सकै कारण प्याकेज सस्तो भएकाले मलेसिया र मलेसिया ट्रान्जिट पर्ने मुलुकमा नेपाली धेरै घुम्ने गरेको प्रेसिडेन्ट टुर्स एन्ड ट्राभलका अध्यक्ष भोलाविक्रम थापाले बताए । एसियाली मुलुकपछि नेपालीहरु युरोप भ्रमणमा पनि निस्कने गरेका छन् । फ्रान्स, ग्रिक, बेल्जियम, स्पेन, पोर्चुगल, स्विडेन, स्विट्जरल्यान्डलगायत मुलुकमा पनि नेपाली घुम्नका लागि जाने गरेको व्यवसायीहरु बताउँछन् ।

इन्सेन्टिभ होलिडेजको प्याकेजमा १० दिनमा तीन मुलुक घुमेका बाग्लुङका राजेशचन्द्र राजभण्डारीले विदेश घुम्नु रमाइलोका लागि मात्र नभएको बताए । ‘हामी मलेसिया, सिङ्गापुर र थाइल्यान्ड घुम्यौं । प्रत्येक देशको फरकफरक पहिचानसँग नजिक भयौं,’ उनले भने । तीन मुलुक घुम्दा १ लाख २३ हजार रुपैयाँ खर्च भएको र प्याकेजमार्फत जाँदा सस्तो परेको उनको भनाइ छ ।

देभभित्रै पनि घुम्ने बढ्दै छन्
विदेश मात्र होइन, नेपालभित्रका विभिन्न मनोरम स्थानमा पनि नेपालीहरु घुम्न निस्कने गरेका छन् । विगतमा आफै साथीभाइ गु्रपमा घुम्न निस्कने नेपालीहरु अहिले विभिन्न ट्राभलले ल्याएका प्याकेजमार्फत जान थालेका छन् । आन्तरिक पर्यटनमा टेवा पु¥याउनका लागि सरकारले २०७३ लाई घुमफिर वर्ष मनाएपछि त्यसको सकारात्मक प्रभाव परेको छ । मुस्ताङ, मनाङ, सगरमाथा आधारशिविर, घोरेपानी पुनहिल, बर्दिया, रारा, सौराहालगायत क्षेत्रमा पुग्ने नेपाली बढिरहेका छन् ।

विभिन्न मुलुकमा घुमाउने ट्राभलले नै देशभित्र घुम्ने नेपालीको सङ्ख्या बढेपछि आन्तरिक गन्तव्यका प्याकेज समेत ल्याएका छन् । अहिले इन्सेन्टिभ होलिडेज, सिलिङ्क्स होलिडेज, कान्तिपुर होलिडेज, लक्की होलिडेज, हाइक फर नेपाललगायतले दसँै बिदालाई लक्ष्य गरी देशभित्रकै विभिन्न गन्तव्यका प्याकेज घोषणा गरेका छन् ।

देशभित्र घुम्ने नेपालीको सङ्ख्या पनि ह्वात्तै बढेको मेघा एडभेन्चरर्सका सञ्चालक तथा हाइक फर नेपालका अभियन्ता गणेश शर्माको भनाइ छ । हाइक फर नेपालले ५५ हप्तामा ७ हजारलाई राजधानी वरिपरि र राजधानीबाहिर घुमाइसकेको उनले बताए ।