नेपाल र कोस्टारिकाले कृषि र मौसम परिवर्तन विषयमा मिलेर काम गर्ने

वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूले कोस्टारिकाका विषयमा धेरै कुरा सुनेको, अहिले देख्न पाएको र भ्रमणका लागि यसभन्दा उपयुक्त समय नभएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्नसक्ने विषयमा छलफल भएको छ ।

वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूले कोस्टारिकाका विषयमा धेरै कुरा सुनेको, अहिले देख्न पाएको र भ्रमणका लागि यसभन्दा उपयुक्त समय नभएको बताए । उनले कोस्टारिकाले आर्थिक, वातावरण संरक्षण, मानवाधिकारजस्ता विषयमा निकै प्रगति गरेको आफूले देखेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले आफूले पिरिस जलविद्युत् परियोजना तथा वायुऊर्जा संयन्त्र हेर्ने मौका पाएको, शान्ति विश्वविद्यालयमा मानार्थ विद्यावारिधिको उपाधि स्वीकार्दा शान्ति तथा सामाजिक– आर्थिक विषयमा छलफल गर्न पाएको जानकारी दिए । उनले दुई देशबीच सम्बन्ध तथा सहयोगका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको र त्यसमा गरीबी, गरिबी निवारण, दिगो विकास, वातावरण संरक्षण, स्वच्छ ऊर्जा र अन्य विषय समेटिएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले दुई नेतृत्वबीच नेपालको प्राथमिकता, समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य, वातावरणीय परिवर्तन, महिला सशक्तीकरण, प्रजातन्त्र, सुशासन, निःशस्त्रीकरण आदि विषयमा पनि छलफल भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले राष्ट्रपति क्वेसाडा तथा प्रथम महिलालाई उपयुक्त छिटो समयमा नेपाल भ्रमणको निमन्त्रणा पनि दिए । प्रधानमन्त्री ओली तथा राष्ट्रपति क्वेसाडाबीच छुट्टै एकल वार्तासमेत भएको थियो । यसपछि दुई मुलुकबीच प्रतिनिधिमण्डलस्तरमा वार्ता भएको थियो । – तस्बिरः विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली/रासस