पाँच किलो सुन बरामद

महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्गलबार साँझ पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै काठमाडौँ ल्याउँदै गरेको अवस्थामा तारकेश्वर नगरपालिकास्थित तीनपिप्लेबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्गलबार साँझ पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै काठमाडौँ ल्याउँदै गरेको अवस्थामा तारकेश्वर नगरपालिकास्थित तीनपिप्लेबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

परिसरले आज पत्रकार सम्मेलन गरी पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कडाइ गरेपछि केरुङ नाका हुँदै भित्रिने क्रम बढेको जानकारी दिएको छ ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पेटीमा बाँधेर सार्वजनिक यातायातमा चढेर सुन ल्याएको अवस्थामा पाँच किलोग्राम सुनसहित रसुवा गोसाइकुण्ड–९ घर भएका सोबहादुर तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।

“प्रतिकिलोग्राम ५० हजार पाउने आशमा सुन ओसारपसार गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने । प्रहरीले सुनसहित एक थान मोबाइलसमेत बरामद गरेको छ ।

यसअघि असोज ९ गते परिसरको टोलीले मोटरसाइकलमा तीन किलोग्राम सुन ल्याउँदै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको थियो । सोही समयमा केरुङ नाकाबाट सुन तस्करी भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्दा रसुवा गोसाइँकुण्ड गाउँपालिकाका नरबहादुर घले र पेम्बा तामाङलाई नियन्त्रणमा लिएको थियो । रासस