भन्सारले रोक्ने भएपछि ८ करोडभन्दा बढीको ‘चिभास रिगाल’ ल्याउनबाट पछि हट्यो आर्मी

मिसन सकेर फर्किने बेलामा आर्मीले १२ सय कार्टुनभन्दा बढी चिभास रिगाल रक्सी ल्याउन लागेको जानकारी राजस्व अनुसन्धान विभागले पाएको थियो । सूचनाकै आधारमा भन्सारलाई प्रतिव्यक्ति एक बोतल वा एक लिटरसम्म छुट दिने र बाँकी सबै रक्सी जफत गर्न भन्सारलाई निर्देशन दिएको थियो ।

शान्ति मिसनबाट फर्किंदा नेपाल आर्मीले ठूलो परिमाणमा ल्याउन लागेको ‘चिभास रिगाल’ रक्सी भन्सारले रोक्ने चेतावनी दिएपछि ल्याउनबाट हच्किएको छ ।

संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनअन्तर्गत द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र दक्षिण सुडान, कङ्गो र हाइटीमा गएका आर्मी दुई महिनाअघि फर्किंदा ८ करोड ६४ लाख रुपैयाँबराबारको चिभास रिगाल ल्याउन लागेको र काठमाडौं एयरपोर्टमा सहजीकरणका लागि सोधखोज गर्दा भन्सारले रोकेको थियो ।

मिसन सकेर फर्किने बेलामा आर्मीले १२ सय कार्टुनभन्दा बढी चिभास रिगाल रक्सी ल्याउन लागेको जानकारी राजस्व अनुसन्धान विभागले पाएको थियो । सूचनाकै आधारमा भन्सारलाई प्रतिव्यक्ति एक बोतल वा एक लिटरसम्म छुट दिने र बाँकी सबै रक्सी जफत गर्न भन्सारलाई निर्देशन दिएको थियो ।

सेनाले सबै रक्सी जफत हुने थाहा पाएपछि नल्याएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । ‘सेनाले आफ्नो जहाजको लगेजभरि रक्सी ल्याउँदै छ भन्ने जानकारी आएको थियो,’ उनले क्यापिटल नेपालसँग भने, ‘जोसुकै भए पनि कानुन बाहिर गएर रक्सी ल्याउनेलाई समात्न एयरपोर्ट भन्सारलाई दिएको निर्देशनपछि सेना पछि हटेको हो ।’

‘यसअघि सेनाले त्यसरी रक्सी भित्र्याएको छ कि छैन हामीलाई थाहा भएन,’ उनले भने, ‘तर, अहिले ल्याउँदै छ भन्ने जानकारी आएपछि अर्थ मन्त्रालयको सहमतिमा भन्सारमा सबै रक्सी समात्न निर्देशन भएको थियो । तर, सेनाले एयरपोर्टबाट रक्सी छिराउन नसक्ने थाहा पाएपछि उतैबाट नलिई आएको हो ।’