कृषकको पहिचानका लागि वर्गीकरण

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषक पहिचान तथा वर्गीकरण कार्यविधि–२०७५ तयार गरी त्यसैका माध्यमबाट यहाँका ११ अाेटै जिल्लाका प्रत्येक वडामा कृषक वर्गीकरण गर्न लागेको हो ।

गण्डकी प्रदेश सरकारले वास्तविक कृषकको पहिचानका लागि वर्गीकरण सुरु गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषक पहिचान तथा वर्गीकरण कार्यविधि–२०७५ तयार गरी त्यसैका माध्यमबाट यहाँका ११ अाेटै जिल्लाका प्रत्येक वडामा कृषक वर्गीकरण गर्न लागेको हो ।

मन्त्रालयका सचिव शरद्चन्द्र श्रेष्ठका अनुसार मन्त्रालयले पर्वतको कुष्मा नगरपालिका–१२ बाट वर्गीकरणको काम थालेको हो । सरकारले प्रत्येक वडामार्फत् कृषकको वास्तविक विवरण सङ्कलनका लागि फारम भर्न लगाउने र त्यसका आधारमा वर्गीकरण गरिनेछ । कृषकको पहिचान, वर्गीकरण र अभिलेखीकरणको माध्यमबाट वास्तविक कृषक लाभान्वित हुने सुनिश्चितताका साथै कृषि विकासका कार्यक्रम सञ्चालन प्रक्रियालाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन कृषकको वर्गीकरण गरिएको उनी बताउँछन् ।

कार्यविधिअनुसार विशिष्ट, उद्यमी, व्यावसायिक, व्यवसायउन्मुख, साना, निर्वाहमुखी, सीमान्तकृत र सौखिन गरी कृषकलाई आठ तहमा वर्गीकरण गरिएको छ । विशिष्ट कृषक बन्न वार्षिक तीन करोडभन्दा बढी लगानी र दुई करोड रूपैयाँभन्दा बढीको कारोबार हुनुपर्नेछ । त्यस्तै मासिक आम्दानी पाँच लाख रूपैयाँ, पारिवारिक खर्चमा शतप्रतिशत योगदान र ३० जनाभन्दा बढीलाई रोजगारी दिएको हुनुपर्ने उल्लेख छ । कृषिमा सात वर्षको व्यवसाय अनुभव र तालीम प्राप्त अत्याधुनिक प्रविधिसमेतको प्रयोगलाई विशिष्ट कृषकको वर्गीकरणका सर्त राखिएको छ ।

उद्यमी कृषकका लागि वार्षिक ५० लाखभन्दा बढी लगानी, ४० लाखभन्दा बढीको कारोवार र कम्तीमा मासिक दुई लाख रूपैयाँ आम्दानी हुनुपर्नेछ । त्यस्तै पारिवारिक खर्चमा शतप्रतिशत योगदान, १५ जनाभन्दा बढीलाई रोजगारी र पाँच वर्षको व्यवसाय अनुभव तथा तालीमप्राप्त अत्याधुनिक प्रविधि आवश्यक पर्नेछ । व्यावसायिक कृषकका लागि वार्षिक २४ लाखभन्दा बढी लगानी र २५ लाख रूपैयाँभन्दा बढीको कारोवार तथा मासिक एक लाख आम्दानी हुनुपर्नेछ । त्यस्तै शतप्रतिशत पारिवारिक खर्चमा योगदान, नौ जनाभन्दा बढीलाई रोजगारी, पाँच वर्षको व्यवसाय सञ्चालन अनुभव र तालीम एवं उन्नत यान्त्रिक प्रविधिको प्रयोगलाई आवश्यक शर्त मानिएको छ ।

व्यवसायउन्मुख कृषक बन्न वार्षिक पाँच लाखभन्दा बढी लगानी, १२ लाखभन्दा बढीको कारोवार र मासिक ३० हजार आम्दानी हुनुपर्ने उल्लेख छ । यसका साथै पारिवारिक खर्चमा ८० प्रतिशत योगदान, पाँच जनाभन्दा बढीलाई रोजगारी तथा चार वर्षको व्यवसाय सञ्चालन अनुभव र तालीम प्राप्त उन्नत प्रविधिको प्रयोग आवश्यक हुनेछ । साना कृषकका लागि पाँच लाखभन्दा बढी वार्षिक लगानी र कारोवार पाँच पाँच लाख तथा मासिक १५ हजार आम्दानी हुनुपर्ने शर्त छ । त्यस्तै चार जनाभन्दा बढीलाई रोजगारी र तीन वर्षको व्यवसाय सञ्चालन अनुभव एवं उन्नत प्रविधि युक्त हुनुपर्नेछ ।

कार्यविधिले पाँच लाखभन्दा कम वार्षिक लगानी र कारोवार भएको, मासिक पाँच हजार आम्दानी भएको कृषकलाई निर्वाहमुखी कृषक भनेको छ । त्यस्तै यसको वर्गीकरणका अन्य आधारमा दुई वा सोभन्दा कमलाई रोजगारी र दुई वर्षको व्यवसाय सञ्चालन अनुभव मिश्रित दक्षता प्रविधि हुनुपर्ने उल्लेख छ । सीमान्तकृत कृषककका लागि एक लाखभन्दा कम वार्षिक लगानी एवं कारोवार र मासिक एक हजार आम्दानी हुनुपर्ने उल्लेख छ । उक्त कृषकको पारिवारिक खर्चमा ४० प्रतिशत वा सोभन्दा कम योगदान, दुई वा सोभन्दा कमलाई रोजगारी सिर्जना हुनुपर्ने भनिएको छ । यसका लागि मिश्रित दक्षता प्रविधि आवश्यक भनिए पनि व्यवसाय सञ्चालन अनुभव तोकिएको छैन । करेसा बारी, कौशी खेती र अन्य भनि सौखिन कृषकलाई वर्गीकरण गरिएको छ । यसका लागि अन्य कुनै पनि आधार तोकिएको छैन ।

विगतमा झोले कृषकले अनुदान पाउने गरेको व्यापक जनगुनासो आउने गरेको बताउँदै सचिव श्रेष्ठले यो वर्गीकरणसँगै वास्तविक कृषकले अनुदान पाउने विश्वास व्यक्त गरे । वर्गीकरणसँगै सरकारले मोडेल फारमका लागि ५० प्रतिशतसम्म अनुदान दिन सक्ने बताउँदै उनले यसका आधारमा अन्य अनुदान तथा सहयोग वितरण हुने जानकारी दिए । वास्तविक कृषक अनुदान तथा सहयोगबाट वञ्चित हुने गरेको वास्तविकतामा कृषकको पहिचानका लागि वर्गीकरण थालिनुलाई सरोकारवालाले सकारात्मक रुपमा लिएका छन् ।

नेपाल किसान सङ्घ कास्कीका अध्यक्ष भेषराज पराजुली वास्तविक कृषकलाई राज्यबाट सेवा सुविधा प्रदान गर्नसके पनि व्यावसायिक कृषितर्फ आकर्षण बढ्दै जाने बताए । कृषकको पहिचान एवं वर्गीकरणसँगै त्यसअनुरुप अनुदान र अन्य सेवा सुविधा पनि राज्यबाट प्रदान गर्ने वातावरण तयार गरिनुपर्ने उनको भनाइ छ । दुर्गम वस्तीमा अझै पनि राज्यबाट जाने अनुदान पुग्न नसकेको बताउँदै पराजुलीले वर्गीकरणका क्रममा स्थान विशेषलाई पनि महत्वका साथ हेरिनुपर्ने धारणा राखे ।–वासुदेव पौडेल/रासस