चुनाव हारे पनि कांग्रेसले राजनीति हारेको छैन–गगन

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीले चुनाव हारे पनि राजनीति नहारेको बताएका छन् । नेपाल विद्यार्थी संघ प्रदेश नम्बर ३ ले राजधानीमा शनिवार ४३ औं राष्ट्रिय मेलमिलाप दिवशको अवसरमा आयोजना गरेको ‘मेलमिलाप नीति र नेपाली कांग्रेस पूर्नजागरण बहस’ कार्यक्रममा थापाले यस्तो धारणा राखेका हुन् ।

‘अन्य दलले समुदायमा उत्तेजना, निषेध, बनावटी नाराको आधारमा अहिले चुनावी परिणाम आफ्नो पक्षमा पारेका छन्,’ थापाले भने, ‘एमाले, माओवादी र मधेशी दललाई जोड्ने फेरी कांग्रेसकै खाँचो हुनेछ ।’ समुदायलाई जोड्ने तागत कांग्रेससँगमात्र रहेको थापाले दाबी गरे ।

‘एउटा निर्वाचन हार्दैमा चिन्ता गर्नु पर्दैन,’ थापाले भने, ‘कांग्रेसले आँफैले आँफैलाई चिन्न नसक्दा निर्वाचनमा यो परिणाम आएको हो ।’ कांग्रेसले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन खेलेको नेतृत्वदायी भूमिका, संविधान जारी, संघीयताको सही कार्यान्वयन लगायतको विषयमा जनतालाई बुझाउन पनि नसकेको बताए । ‘कांगे्रस को हो भन्ने परिचय हामीले भन्दा एमाले अध्यक्ष केपी ओलीले दिए,’ थापाले भने, ‘हामीले आफ्ना अजेण्डा जनतासम्म पु¥याउन नसक्दा यस्तो परिणाम आयो ।’ राष्ट्रिय स्वाधिनता रक्षाको लागि वीपीले खेलेको भूमिकालाई थापाले स्मरण गरे । उनले अब नेतृत्वले अलमल नगरी अभिभावकको भूमिका निर्वाह गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवाको उपस्थिती सशक्त हुनुपर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले वीपीको विचार अहिले पनि उत्तिकै समय सान्दर्भिक रहेको बताए । अर्का केन्द्रीय सदस्य प्रदिप पौडेलले अब देशव्यापी जागरण अभियान चलाउनु पर्ने बताए । कांग्रेसको पुर्नजागरणको नयाँ अभियान सुरु गरेको नेविसंघका उपाध्यक्ष डिल्लिराम सुवेदीले बताए ।