ग्रामीण क्षेत्रमा कुटानीपिसानी गर्न प्रयोग गरिने ढिकी, जाँतो, कोललगायतका विभिन्नखालका परम्परागत सामग्रीको लोप हुन थालेपछि त्यसको संरक्षणका लागि उद्यान नै स्थापना गरिएको वडाध्यक्ष डिलबहादुर थापाले जानकारी दिए, “नयाँनयाँ प्रविधि भित्रिन थालेपछि गाउँघरमा प्रचलनमा रहेका पुराना सामग्री लोप हुन थालेका हुन्, तिनको संरक्षण र सम्बर्द्धन गर्नुपर्छ भनेर उद्यान निर्माण गरेका हौँ” वडाध्यक्ष थापाले भने ।
गाउँघरकोे पहिचान झल्कने गरी गाउँघरमै प्रयोग गरिने सामग्री बनाएर गोरखामा परम्परागत उद्यान निर्माण भएको छ । गोरखा नगरपालिका–१२ स्थित रानीटारमा पुराना पहिचान बोकेका विभिन्न सामग्रीको संरक्षण गर्न नौ रोपनी क्षेत्रफलमा रानीटार उद्यान निर्माण गरिएको हो ।
ग्रामीण क्षेत्रमा कुटानीपिसानी गर्न प्रयोग गरिने ढिकी, जाँतो, कोललगायतका विभिन्नखालका परम्परागत सामग्रीको लोप हुन थालेपछि त्यसको संरक्षणका लागि उद्यान नै स्थापना गरिएको वडाध्यक्ष डिलबहादुर थापाले जानकारी दिए, “नयाँनयाँ प्रविधि भित्रिन थालेपछि गाउँघरमा प्रचलनमा रहेका पुराना सामग्री लोप हुन थालेका हुन्, तिनको संरक्षण र सम्बर्द्धन गर्नुपर्छ भनेर उद्यान निर्माण गरेका हौँ” वडाध्यक्ष थापाले भने ।
उद्यानमा निर्माण गरिएको परम्परागत ढिँकी, जातोलगायतका उपकरणको सबैले निःशुल्क प्रयोगसमेत गर्न पाउने उनको भनाइ छ । “यहाँ निर्माण गरिएका सामग्रीको सबैले निःशुल्क प्रयोग गर्न पाउँछन्”, वडाध्यक्ष थापाले भने, “त्यसको संरक्षणको काम भने स्थानीय रानीटार टोल सुधार समितिलाई नै दिइएको छ ।”
उद्यानमा तत्कालका लागि भने मकै पिध्ने, कोदो पिध्ने ढुङ्गाको जाँतो, धान कुट्ने, काठको ढिकी राखिएको छ । त्यस्तै उद्यानमा परम्परागत रुपमा तेल निकाल्ने काठको कोलसमेत राखिएको उनले बताए । “अहिले कुमाल समुदायकोे संस्कृति झल्कने पाउँदुरे नाँच विस्तारै लोप हुँदै गएको छ, आफ्नो संस्कृति छोड्नु हुँदैन भनेर त्यसको संरक्षणका लागि उद्यानभित्र विशेष मञ्च निर्माण गरेका छाैं” उनले भने ।
उद्यानभित्र विभिन्न जातजातिको पहिचान र संस्कृति झल्कने सजावटका सामग्री राख्ने तयारीसमेत भइरहेको वडाध्यक्ष थापाको भनाइ छ । कुल आठ लाख रूपैयाँ खर्च भएको उक्त परम्परागत उद्यान निर्माणका लागि आव २०७४/७५ मा गोरखा नगरपालिकाले पाँच लाख र वडा कार्यालयले तीन लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो ।
उद्यानमा अब कुमाल समुदायले परम्परागतरुपमा प्रयोग गर्ने थप सामग्री राख्ने योजना बनाइएको थापाले बताए । उनले उद्यानलाई वनभोज थलोको रुपमा समेत विकास गरेर लैजाने लक्ष्य राखिएको जानकारी दिए । सदरमुकाम वरपरका वासिन्दाका लागि मनोरञ्जनका लागि खुल्ला स्थान नभएको अवस्थामा उक्त ठाउँ वनभोज गर्ने, मेला महोत्सव आयोजना गर्ने र भेटघाट गर्ने उपयुक्त थलो बन्ने उनको भनाइ छ ।
गोरखा–आँबुखैरेनी सडकखण्डसँग जोडिएको रानीटार उद्यानले गोरखाको पहिचान झल्कने उनको भनाइ छ । गोरखा नगरपालिकाले नगरपालिकाभित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यसहित सबै वडामा फरकफरक खालको उद्यान निर्माणको लक्ष्य राखेको नगरपालिका प्रमुख राजनराज पन्तले बताए । रासस